काठमाडौं । प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो ।
उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको थियो । उक्त प्रस्ताव पेस गर्दै सांसद गौतमले उम्मेदवार रानामगर राजनीतिमा नयाँ भए पनि सामाजिक क्षेत्रमा आम नेपालीबीच परिचित अनुहार भएको बताउनुभयो । कारागारमा रहेका अभिभावकका बालबालिकाको अभिभावकत्व लिएर समाजमा उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उहाँले रानामगरलाई उपसभामुखमा निर्वाचित गराएर गौरव गर्नुपर्ने धारणा राख्नुभयो ।
“अन्धकारमा जीवन बिताइरहेका कैयौँ नेपाली बालबालिकालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनुहुने माननीय इन्दिरा रानामगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, उहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मानित हुनु हो”, उहाँले भन्नुभयो ।
उक्त प्रस्तावका समर्थक श्रेष्ठले समाजमा दिएको योगदानको प्रतिफलका आधारमा नै रानामगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएको बताउनुभयो । उहाँको पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यमा खेल्नसक्ने भूमिकालाई मध्यजनर गर्दै उपसभामुखमा सान्दार मतबाट निर्वाचित गराउन श्रेष्ठले आग्रह गर्नुभयो ।
अर्का समर्थक शर्माले सामाजिक क्षेत्रमा अब्बल व्यक्तिका रुपमा सांसद रानामगर रहेको उल्लेख गर्दै सिङ्गो संसद्लाई उहाँले नेतृत्व गर्न सक्ने बताउनुभयो । उहाँले महिला, जनजाति, पछाडि परिएका व्यक्तिलाई अगाडि ल्याउन पनि रानामगरलाई उपभामुखमा विजयी गराउनुपर्ने बताउनुभयो ।
अर्का समर्थक लिङ्देनले रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलेसमेत नजिकबाट चिनेको उल्लेख गर्दै उहाँले भूइँ मान्छोका रुपमा आफ्नो देशको नाम राख्ने काम गरेको स्मरण गर्नुभयो । “आफूलाई सम्पूर्णरुपमा समाजसेवामा समर्पित गर्नुभएको छ, त्यस्तो व्यक्तिलाई समर्थन गर्न पाउनु अत्यन्त खुसीको विषय हो”, उहाँले भन्नुभयो, “रानामगरलाई राप्रपाको पूर्ण समर्थन छ । सबै पार्टी र सांसदलाई उहाँको पक्षमा मतदान गर्न अपिल गर्न चाहन्छु ।”
उपसभामुख पदका अर्का उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सभामा प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावलाई नेकपा ९एकीकृत समाजवादी० का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्नुभएको छ ।
प्रस्ताव पेस गर्नुहुँदै सांसद पाण्डेले संसदीय अभ्यासमा यादव अनुभवी रहेकाले उपसभामुखमा विजयी गराउनुपर्ने बताउनुभयो । “उहाँले समावेशी संविधान निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । यस्तै राष्ट्रियसभा सदस्यका रुपमा पनि जनताको प्रतिनिधिका रुपमा काम गर्नुभयो”, सांसद पाण्डेले भन्नुभयो । उक्त प्रस्तावका समर्थक मेटमणि चौधरी र अर्का समर्थक शुक्लाले यादवको योग्यता र क्षमतामाथि विश्वास गरेर मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभयो ।