काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ । आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्ष प्रवेश गरेको मानिन्छ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा काठमाडौंको टुँडिखेलमा बृहत् ल्होछार कार्यक्रम हुँदैछ । कार्यक्रममा तामाङ जातिका सांस्कृतिक संस्थाहरू ताम्वा, बोन्वो तथा लामा गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू घोडचढी, दोहोरी, डान्स, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुत गरिँदैछ ।
साथमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चर्चित तथा ख्यातिप्राप्त अतिथि कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमका संयोजक नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमार घिसिङले जानकारी दिनुभएको छ । महोत्स्वमा तामाङ समुदायका विशेष खानाका परिकारहरू, वेशभूषाहरू, तामाङ जातिसँग सम्बन्धित पुस्तक, गीती क्यासेट तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलमा बिक्री तथा प्रदर्शनी गरिँदैछ ।