घलेभन्ज्याङ । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटी सदस्य तेजबहादुर तामाङले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा तामाङलाई मन्त्री नबनाइएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ ।
तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा आरूखर्क तामाङ सामाजले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ मा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उहाँले उक्त धारणा राख्नुभएको हो । 'तपाईं (प्रचण्ड)को मन्त्रीमण्डलमा देशका लाखौं तामाङको प्रतिनिधित्व खोइ ? तपाईंले जवाफ दिनुपर्छ तामाङहरुलाई । तामाङहरु चुप लागेबस्ने वाला छैन,' पञ्चकन्या गाउँपालिका अध्यक्षसमेत रहनुभएका तामाङले भन्नुभयो, 'प्रधानमन्त्रीले कार्यविधि पनि बनाइदिनुपर्छ । त्यो मापदण्ड टेकेर तामाङहरु अघि बढ्न तयार छन् । यो मन्त्रीमण्डलमा तामाङहरु पुग्न के-के मापदण्ड पूरा गर्नुपर्ने हो त्यसको जानकारी हामी तामाङहरुलाई चाहियो । सिङ उम्रिन पर्ने हो कि जुरो निस्कन पर्ने हो ? कति केजीको हुनुपर्ने हो, कति हाइटको हुनुपर्ने हो ?'
तामाङमाथिको विभेद कायमै रहेको भन्नुहुँदै अध्यक्ष तामाङले यसको बयान गरिसाध्य नभएको स्मरण गराउनुभयो । 'हिजोका दिनमा तत्कालीन शासकले तामाङमाथि गरेको दमनको बयान गरिसाध्य नै छैन । अहिले राज्यका माथिल्लो ओहोदामा बसेकाको पनि तामाङमाथि हेर्ने नजरमा परिवर्तन आउनसकेको छैन । चाहे त्यो श्री ३ को पालामा होस् चाहे श्री ५ को पालामा होस् चाहेअहिले श्री ६ को पालामा तामाङ जाति माथिको विभेद अन्त्य हुन सकेको छैन्,' उहाँले भन्नुभयो, 'यो देशको परिवर्तनकारी आन्दोलनमा तामाङको भूमिका उत्तिकै रहेको छ । सडक सञ्जाल नहुँदा भिमफेदीबाट राजा, महाराजहरुले चढ्ने गाडी हाम्रै पुर्खाले बोक्नुपर्थ्यो । खाजाको भरमा गाडी बोक्नुपर्थ्यो । त्यतिसम्मको विभेद थियो । हामीले त्यो कुरा पनि सम्झेका छौं ।' देशको आदिवासी जनजाति, मुस्लिस मधेसी यहाँका दलित लगायत उत्पीडित जनताको नेतृत्व गर्दै १० वर्षसम्म सशस्त्र युद्धको नेतृत्व गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुप्रिम कमाण्डर सरकारको नेतृत्वमा हुँदा पनि तामाङलाई मन्त्रिपरिषद्मा नलगिएको भन्दै अध्यक्ष तामाङले आपत्ति जनाउनुभयो ।
उहाँले आफ्नो संस्कार, संस्कृति, रीतिरिवाज जोगाउँदै तामाङ समुदायले अधिकार र नीति, निर्माण तहमा जान राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । 'अब तामाङहरु म्हेन्दोमाया गीत बजाएर गाएर नाच्नेमात्रै होइन । डम्फू बजार मैच्याङलाई च्याङ्बाले भगायो भन्नेमात्रै होइन,' उहाँले थप्नुभयो, 'नाच्नु पर्छ । आफ्नो संस्कार, संस्कृति, रीतिरिवाज जोगाउनुपर्छ । त्यो सँगै राजनीतिक बहस चलाउनु आवश्यक पनि छ । तर कसले तामाङलाई के गरिरहेको छ भन्ने सोच्ने बेला हो । अवसर पाएसी बदला लिने नै हो । किनभने तामाङहरुलाई हिजैदेखि सताएको छ । अझै पनि तामाङमाथि विभेद अन्त्य भएको छैन । भन्ने एउटा, व्यवहारमा अर्को भइरहेको छ । त्यसैले तामाङले अब राजनीति गर्नुपर्छ । राजनीतिक कार्यक्रमहरु, बहसहरु चलाएर देशको नीति निर्माण गर्ने तहमा तामाङहरुले कसलाई पठाउने, हामी कहिले जाने भन्ने विषय सोच्न जरुरी छ ।'
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम ठकुरी, माओवादी केन्द्र पञ्चकन्या अध्यक्ष मणिनाथ लामिछाने, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसीलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तामाङ समुदाय जातीय भेषभूषामा सजिएर तामाङ सेली र मौलिक गीतमा रमाएका थिए । तामाङ समुदायले आइतबार बिरालो वर्गलाई स्वागत गरेका छन् ।