काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले जनताका छोराछोरीले रगतसँग साटेर ल्याएको गणतन्त्र नेपालमा सामन्ती राजा, महाराजाको जन्मदिन मनाउने भद्दा मजाक नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
टुँडिखेलमा आइतबार आयोजित सोनाम ल्होछार २८५९ मा प्रमुख अतिथिका रुपमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष गोलेले त्यस्तो आग्रह गर्नुभएको हो । 'आज सिंहदरबार र संसद् भवन अनि पार्टीका मुख्यालयहरुमा कुन खालको खिचडी पाक्दैछ । हाम्रो नाकमा नमिठो गन्ध आइरहेको छ प्रधानमन्त्री महोदय । गणतन्त्र नेपालमा सामन्ती राजा महाराजाको जन्मदिन मनाउने भद्दा मजाक नगरियोस् भन्छौं । यो गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जनताका छोराछोरीले रगतसँग साटेर ल्याएका हुन् ।'
उहाँले मतादेशको आधारमा जनादेशलाई नबंग्याउन पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभएको थियो । 'यो व्यवस्था मतादेशका कारण आएको होइन । मतादेश भनेको ५ वर्ष शासन गर्ने आदेश हो । जनादेश भनेको जनताले दिएको म्यान्डेट हो । त्यसलाई बंग्याउन मिल्दैन । त्यसतर्फ सम्माननीय प्रधानमन्त्रीज्यूको समग्र परिवर्तनकामी तामाङ जनताको तर्फबाट म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,' उहाँको भनाइ थियो ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १७ वर्षपछि यस वर्षदेखि पुस २७ मा पृथ्वीजयन्ती दिन सार्वजनिक बिदालाई निरन्तरता दिएपछि गणतन्त्र, संघीयता पक्षधरले विरोध गरिरहेका छन् । विसं २०६२–०६३ अघिसम्म पृथ्वीजयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा जनआन्दोलनपछि नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि संसदवादी दलहरुको सरकारले कटौती गरेको थियो । सरकारमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन राखेको सर्तबमोजिम प्रचण्ड सरकारले यस वर्ष उक्त निर्णय गरेको हो ।
कार्यक्रममा सभापतित्वसमेत गर्नुभएका अध्यक्ष तामाङले काठमाडौंको शंकरापुर नगरपालिका बोझेनीमा विकासको नाममा तामाङ जनतामाथि राज्य पक्षले धरपकड, दमन गरिरहेको उल्लेख गर्नुहुँदै त्यसलाई रोक्न प्रधानमन्त्रीले विशेष निर्देशन दिनुपर्ने पनि माग गर्नुभयो । 'कुनै विकासको नाममा हामी हाम्रो थातबास उठाउने परियोजना हामी स्वीकार्दैनौं । त्यहाँ हामीले भिडियोहरु देखिरहेका छौं । प्रहरीले स्थानीय जनतालाई पेस्तोल/बन्दुक ताकिरहेको छ प्रधानमन्त्री महोदय । यसतर्फ विशेष निर्देशन होस्,' अध्यक्ष गोलेले भन्नुभयो, 'शंकरापुरमा एउटा तामाङ छोराछोरीको ज्यान तलमाथि नहोस् । स्थानीय समुदायको सहमति लिइयोस् । सहज वातावरणबनाएर विकासका कार्यक्रमहरु अगाडि बढाइएको यसतर्फ प्रधानमन्त्रीज्यूको ध्यानकार्षणक गराउन चाहन्छु ।' उहाँले वाग्मती प्रदेशमा सरकारी कामकाजको भाषामा तामाङ भाषा बनाउन भाषा आयोगले सिफारिस गरेको, प्रदेश सरकारले निर्णय गरे पनि अघि नबढेकोमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभएको थियो ।