ककनी । नुवाकोट ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ 'सज्जन'ले गाउँपालिकाभित्रका अस्तव्यत सडक र काठमाडौंबाट भित्रिएको फोहोरबाट उब्जिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
ककनी गाउँपालिका-२ सानोचित्रेमा शनिबार श्री कोन्ज्योसोम सानुचित्रे युवा क्लबले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष तामाङले आगामी २०८४ सालसम्ममा काउले थाना-सानोचित्रे-गैरीखर्क-चाउथे सडक कालोपत्रे गराउन प्रतिबद्धता जनाउनुभयो । उहाँले त्यसका लागि प्रदेश र संघ सरकारमा आफूले प्रस्ताव लगिने जानकारी गराउनुभयो ।
'नेपाल सरकारको तीन तहमध्ये स्थानीय मुख्य हो, विकासका लागि । केन्द्रु र प्रदेश सरकारले पनि बजेट स्थानीय तहमा हाल्ने हो । समपुरक बजेटका लागि प्रस्ताव पेस गर्नुपर्ने प्रावधान छ । काउलेथाना- सानोचित्रे, गैरीखर्क-चाउथे सडक अबको तीन वर्षभित्र पूरा गर्ने गरी बहुवर्षीय योजनाअनुरुप संघीय सरकारमा पेस गरेर सम्पन्न गराउन प्रस्ताव पेस गर्नेछु । अन्य बाटोलाई पनि विशेष ध्यान दिएका छौं,' उहाँले भन्नुभयो ।
काठमाडौं उपत्यकाबाट आउने फोहोरका कारण ककनी गाउँपालिकाका १, २ र ३ का नागरिकका मौलिक हकसमेत हनन भइरहेको भन्नुहुँदै अध्यक्ष तामाङले त्यसको दीर्घकालीन समस्या समाधानको पहल गरिने प्रतिबद्धता पनि दोहोर्याउनुभयो । 'फोहोरबाट १, २ र ३ का नागरिकका स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार हनन भइरहेको छ । यो दीर्घकालीन समाधानका लागि विभिन्न क्षेत्रसँग समन्वय र पहल गरिरहेका छौं । वैज्ञानिक रुपमा व्यवस्थित पार्ने काम लाग्ने अर्को प्रतिबद्धता पनि गर्न चाहन्छु ।'
सोनाम ल्होछारमा तामाङसहित क्षेत्री, बाहुन समुदायबाट पनि सहभागी भएकोले यो राष्ट्रिय पर्व भएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रम आयोजनाका लागि उहाँले कोन्ज्योसोम सानुचित्रे युवा क्लबका अध्यक्षलगायत सबै टिमलाई धन्यवाद दिनुभयो । संघीय सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यता र वाग्मती प्रदेश सांसद रमेशकुमार महतको विशेष आतिथ्यतामा भएको कार्यक्रम कलाकारहरुले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए ।