मेरो जन्म हालको मध्यपुर थिमिको पाचो टोलमा भएको थियो । बुवा आफ्नो व्यावसायिक सिलसिलामा म सानै छँदा हेटौंडा बसाइँ सर्नु भयो । बुवा आमा सँगै मलाई र दिदीलाई पनि हेटौंडा लिएर जानु भयो । अनि हाम्रो आधारभूत शिक्षा उतै सुरु भयो । मेरो दाजु भने थिमिमै बसेर पढाई गर्नु हुन्थ्यो । बुबाको संयुक्त परिवार भएकोले दाइलाई खासै समस्या थिएन ।
हामी हेटौंडा नै बसे पनि हरेक ठूलो चाडपर्वमा हेटौंडाबाट थिमि नै आउँथ्यौं । दसैं तिहारमा लामो बिदा हुने र काका ठूलोबुबाका छोराहरुसँग भेट पनि हुने भएकोले दसैं रमाइलो लाग्थ्यो । बुबाका ५ भाइ, जिजु बुबा र पनातिसम्मको संयुक्त परिवारमा हामी लगभग ५० जना जतिको परिवार एकै घरमा बस्थ्यौं ।
हेटौंडामा दसैं बिदा सुरु हुनेबित्तिकै हामी थिमि आउँथ्यौं । दसैं रमाइलो मनाउनु पर्छ भनेर दसैंको शैक्षिक गृहकार्य सकेसम्म हेटौंडामै सकाउने गर्थें । थिमिमा आउँदा घरमा मेरो ब्यक्तिगत कोठा नभएकोले म मेरो साइँला बुबाको छोरा (हाल रेडियोलोजिस्ट) सँगै बस्थें । हामी लगभग एउटै उमेरको भएकोले कुरा पनि मिल्थ्यो ।
उ बेला नवरात्रिमा बिहानै अँध्यरोमा मठमन्दिर जान्थ्यौं । चिसो अनि बाक्लो कुहिरो हुन्थ्यो । बस्ती निक्कै पातलो थियो । जताततै खेत नै खेत । हामी बसेको घर, त्यो बस्तीकै सुरुवाती घर थियो अनि सायद थिमिकै सबैभन्दा ठूलो घर हुनु पर्छ । जुन २०७२ सालको भूकम्पमा क्षति भयो र अहिले तस्बिर र सम्झनामा मात्र सीमित छ ।
दसैंमा नयाँ लुगा सिलाइदिने भएकोले खुसी नै बेग्लै हुन्थ्यो । हामी दाजुभाइहरुलाई एउटै रङ र डिजाइनका लुगा सिलाइदिनुहुन्थ्यो । लुगाको नाप दिन जान समय तोकेको हुन्थ्यो । हामी दाजुभाइहरु लामबद्ध भएर लुगा सिलाउने ठाउँमा नाप दिन जान्थ्यौं । हामी १६ भाइ र भतिजहरु गर्दा धेरै जनाको लुगा एकैपटक तयार गर्नुपर्ने हुन्थ्यो, त्यो समयमा अहिले जस्तो लुगा सिलाउने टेलर्स त्यत्ति धेरै हुँदैनथ्यो ।
अष्टमीदेखि घरमा चहलपहल अलि बढी हुन्थ्यो । अष्टमीको बेलुकाबाट घरमा पारिवारिक भोज सुरु हुन्थ्यो । सबै जना सुकुलमा बस्दा त्यो परिवारिक भोज नभएर कुनै सामाजिक भोजजस्तै लाग्थ्यो । सायद परिवार नै ठूलो भएकोले होला, होहल्ला र चहलपहल पनि निक्कै हुन्थ्यो । ८ जना भाउजूहरु र खाना पकाउन जान्ने दाइहरु भान्छामा ब्यस्त देख्दा बाहिरका मान्छेहरु छक्क पर्थे । भोजमा सुकुलमा बस्दा जेष्ठताको आधारमा पहिला पुरुष अनि महिलाहरु बस्ने हाम्रो चलन थियो । म वरीयता क्रममा १८ औ नम्बरमा पर्थे ।
नवमीको दिनमा पनि रमाइलै हुन्थ्यो । बिहान सवेरै रांगा ढाल्ने हुँदा हामी बिहान अँध्यरोमै हेर्नलाई जाने चलन थियो भने बोका काट्दा अलि नरमाइलो लाग्थ्यो । दसैंका लागि किनेको बोका केही दिन भए पनि हामीसँगै बस्ने हुँदा नमज्जा लाग्थ्यो । दसैंमा घरमा प्राय:जसो सबैले चंगा उडाउँथे । तर आफूलाई खासै नआउने भएकोले हेरेरै रमाउँथे । त्यो बाहेक घर छिमेकमा तास, ओखर, डोरी, लिङ्गेपिङ खेलिन्थ्यो ।
नेवारको घरमा दसैंमा घरमा जाँड नखाने भन्ने कुरै भएन । गार्जेन सँगै गुलियो जाड आफूले पनि खाइथ्यो । जाँडको किस्सा पनि रमाइलो लाग्दो छ । एक दिन सानोमा हामी ५/६ जना दाजु भाईहरु जाडचोर्न जाने योजना बनायौ र ढुकुटीमा गयौ । काकाको कान्छो छोरा हाम्रो नाइके थियो । घ्याम्पो ढोकाबाट अलि टाढा भएकोले एक जनाले घ्याम्पो अलि अगाडि सार्न भन्यो । त्यत्तिकैमा घ्याम्पो सार्न खोजेको मात्र के थियो, फुटेर ढुकुटी पुरै जाँडको पोखरी नै भएको थियो । तर त्यो गल्ती कसले गरेको भन्ने बारेमा आज सम्म पनि घरमा अरु कसैलाई थाहा छैन ।
दशमी अर्थात् टीकाको दिन मेरो लागि विशेष दिन नै हुन्थ्यो । मेरो जन्म दिन पनि बिजया दशमीकै दिन परेकोले बिहानै परम्परागत रुपमा सगुन दिएर पूजा गरिन्थ्यो । त्यसपछि भक्तपुरको ब्रम्हायणीमा दर्शनका लागि जान्थ्यौं । मलाई जन्म दिनको दिन खोला तर्न हुँदैन भनेर हरेक पुलमा पैसा चढाउन लगाइन्थ्यो ।
दशमीको भोलि पल्टबाट नखटे (टीका भोज) सुरु हुन्थ्यो । एक दिन सबै फुपू र विवाहित दिदीहरुको परिवार बोलाउने र अरु दिन मामाघरमा टीका भोज सकेर हेटौंडा फर्किन्थ्यौं ।
अहिलेको दसैं र सानो छँदाको दसैंमा धेरै फरक छ । अहिले व्यवहारिक जिम्मेवारी पनि छ । मठमन्दिर जाने देखि घरको पूजापाठमा आफैं सम्लग्न हुनु पर्छ । नवमीको दिन बिहानै थुप्रै मठमन्दिरमा घरबाट पूजाको थाली हातमा लिएर जान्छौं । म कुल देवताको पूजाका लागि हिँड्छु श्रीमती (डा. शृष्टी श्रेष्ठ प्रजापति) अरु मन्दिरका लागि सबेरै हिँड्छिन् । पूजाको थाली भने अझैसम्म पनि आमाले नै मिलाइदिनुहुन्छ । हामीलाई बाटोमा देख्नेहरु प्रायः एउटै प्रश्न गर्ने गर्छन् 'ओहो, डाक्टर साब पनि ?' सायद धेरैलाई लाग्दो होला, डाक्टर भएपछि भगवान् मान्दैन वा डाक्टर भएपछि पूजाका लागि आफै थाली बोकेर हिँडेर मन्दिर धाउँदैनन् । आफूले पूजाआज गरे पनि घर र मठ मन्दिरमा बलि भने दिने गरेको छैन ।
पहिले मेडिकल अफिसर हुँदा धेरै पटक दसैंमा अस्पतालमै ड्युटी गरेको अनुभव पनि छ । त्यतिखेर थाहा पाए, डाक्टरको दसैं सधैं घरमै हुन्छ भन्ने छैन रैछ भनेर । अहिले पनि दसैं घर परिवारमा मात्र नभएर अस्पताल र बिरामीसँग पनि जोडिएकै हुन्छौं । घरमा दसैं मनाउँदै गर्दा बिरामी र अस्पतालबाट पनि फोन आइरहेकै हुन्छ ।
केमोथेरापी लिइरहेका बिरामीहरुलाई बिदामा पनि आफ्नो चिकित्सकले रिपोर्ट हेरिदिएहुन्थ्यो भन्ने लाग्छ । बिदामा धेरैजसो बिरामीको रिपोर्टबारे फोनमै कुरा हुन्छ र आवश्यक्ताअनुसार निर्देशन वा अस्पताल जानु पर्ने भए सोहीअनुसार सल्लाह दिन्छौं । चाडपर्वमा प्रायः बिरामीहरु के खान हुन्छ र के खान हुँदैन भन्ने जिज्ञासा बढी राख्छन् ।
गएको वर्ष कोरोनाको कारण आफन्तहरुकोमा कतै टीका लगाउन गइएन । यसपालि सबै तिर टीका लगाउन जाने र बोलाउने योजनामा छु ।
(मेडिकल अन्कोलोजिस्ट डा. रोशन प्रजापति, भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्छ)