नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद थपलियाले ल्होछारजस्तो सांस्कृतिक चाडमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
शिवपुरी गाउँपालिका ६ समुन्द्रदेवीमा शिवपुरी महिला समूहले आयोजना गरेको ल्होछार सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष थपलियाले चाडपर्व मनाउँदा दलगत रुपमा नजान आग्रह गर्नुभएको हो । 'यो सांस्कृतिक चाड हो । तपाईंरुको नयाँ वर्ष हो । यो चाडमा दलगत रुपमा कोही पनि नजानुहोला,' उहाँले भन्नुभयो, 'कुनै भेगमा कुनै दललाई बढी, कुनैलाई घटी भोट गएको होला । तर यो सबाल मेरो हकमा लागू हुँदैन । मैले त्यो सोच्न पनि हुँदैन ।'
उहाँले महिला समूहको कार्यक्रमका लागि १ लाख ५० हजार छुटिएको बजेट स्थानीय सरकारको रहेको भन्नुहुँदै नेपाल तामाङ घेदुङ शिवपुरीले मनाउने कार्यक्रमका लागि ३ लाख बजेट विनियोजन गरिसकिएको जानकारी पनि दिनुभयो ।
'वडा कार्यालयबाट वडाध्यक्षज्यूले यो कार्यक्रमका लागि १ लाख ५० हजार रुपेयाँ छुट्याएको भन्नुभयो । वडा कार्यालयबाट छुट्याइएको रकम स्थानीय सरकारको हो,' उहाँले भन्नुभयो, 'शिवपुरी गाउँपालिकाभरिको एक ठाउँमा ल्होछार कर्यक्रम गर्नुस् भनेर गाउँकार्यपालिकाबाट ३ लाख विनियोजन गर्दिसकेको छु । २१ गते शेराबगरमा हुने सुनेको छु । तर आधिकारिक रुपमा मलाई निमन्त्रणा आएको छैन ।'
स्थानीय सरकार यस्तो कला र संस्कृति संरक्षणका लालयित रहेको र गर्न पर्छ भन्ने भनेर दत्तचित्त रहेको पनि उहाँको भनाइ थियो । गाउँपालिकावासी कुनै पनि दल वा समूहलाई भेदभाव नगरिने पनि उहाँको प्रतिबद्धता थियो । 'म तपाईंहरुले स्थापित गरेको जनप्रतिनिधि । शिवपुरी गाउँपालिका अध्यक्ष । कहीं कतै कनै टोलमा मलाई बोलाउँदा कुनै जरुरी काम नहुँदा म पुग्नु पर्नेआवश्यकता ठान्छु । प्रत्येक टोलका । प्रत्येक समुदायका, प्रत्येक जातका नागरिक सबै मेरा नागरिक हुन् । म अहिले यो पदमा स्थापित भइसकेपछि,' उहाँको भनाइ थियो ।
अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा केही पनि सुधार भएन भन्ने नपार्न विकास निर्माण र अन्य विषयमा लागिरहेको पनि प्रस्ट्याउनुभयो । जसका लागि स्वास्थ्य शिविरमार्फत आँखाको मोतिबिन्दु अप्रेसन, हाइड्रोसिल अप्रेसन लगायत स्वास्थ्य सेवा नागरिकलाई नि:शुल्क पालिकाले उपलब्ध गराइसकेको उहाँले बताउनुभयो ।