काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ होटल र्याडिसन इकाईको अध्यक्षमा राम पन्त र महासचिवमा रामहरि भण्डारी चयन हुनुभएको छ ।
आइतबार लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको सम्मेलनबाट पन्तको नेतृत्वमा १४ सदस्यीय पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनले इन्चार्ज श्यामसुन्दर सिलवाल र सहइन्चार्ज दिपक बस्नेत, सल्लाहकार कमिटी सचिवालय कमिटी टुंग्याएको छ भने कार्यसमिति सदस्य पछि टुंग्याउने गरी सम्मेलन सकिएको नवनिर्वाचित महासचिव भण्डाले जानकारी दिनुभयो ।
अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष बिन्दा महत, तीन उपाध्यक्षमा भरत खनाल, शोभाराम पोखरेल, शोभा बस्नेत, सचिवहरुमा गोकर्ण न्यौपाने, सिर्जन बस्नेत, सुमन दाहाल, नवराज लामिछाने, सहसचिव सरोज तिवारी, महेश बुढाथोकी, कोषाध्यक्ष अजय देवकोटा र सहकोषाध्यक्षमा शम्भू धउन्या चयन हुनुभएको छ ।
संघका निवर्तमान कार्यवाहक अध्यक्ष श्यामसुन्दर सिलवालले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त रहनुभयो । त्यस्तै विशेष अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटी अध्यक्ष मुकुन्द पन्त, महासंघ केन्द्रीय सदस्य मल्ल, काव महासचिव रामकुमार खड्का, केन्द्रीय सदस्य तथा अनेहोक्यारेम संघ पार्क भिलेज इकाई अध्यक्ष इन्द्र तामाङ र मनास्लु अध्यक्ष राजु पुजारीलगायतको उपस्थिति थियो ।
सम्मेलनमा अतिथिहरुले सर्भिस चार्ज खारेजीको विरोधमा खादा लगाउन इन्कार गर्नुभएको थियो भने निर्वाचित कमिटीले पनि टीका खादा बहिस्कार गरेको महासचिव भण्डारीले बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथिले सर्भिस चार्जको संघर्षका कार्यक्रमको संभावित मोडल र मजदुरमाथि लगातार भइरहेको ज्यादतीको बारेमा धारणा राख्नभएको थियो । उहाँले अब आन्दोलनको विकल्प नभएको भन्नुहुँदै समग्र मजदुर उठ्नुपर्नेमा जोडदिनुभयो ।
अब हुने आन्दोलनमा र्याडिसनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा राख्नुहुँदै उहाँले जस्तै अवस्था आए पनि संघ र महासंघको साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष मिलन मल्ल, सम्पूर्ण स्टाफ, संगठनका नेतृत्व र अतिथिहरुले इकाईका संस्थापक अध्यक्ष वसन्त थापा, रामेश्वर अधिकारी, नरेश डंगोललगात पूर्व पदाधिकारी तथा सदस्यको योगदानलाई स्मरण गर्नु भएको थियो ।
कार्यक्रम संगठनका पूर्व महासचिव तथा वर्तमान अध्यक्ष राम पन्तले संचालन गर्नुभएको थियो । सम्मेलनमा इकाई उपाध्यक्ष तथा एयरपोर्ट अध्यक्ष शोभाराम पोखरेलले स्वागत मन्तव्य दिनुभएको थियो ।