धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी समीक्षा कार्यक्रम गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो ।
कार्यक्रममा विचार राख्ने अधिकांशले पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सिट बाँडफाँट गलत भएको धारणा राखेका छन् । उनीहरुले चुनावअघि नभई चुनावपछि सरकार सञ्चालनमा मात्र गठबन्धन गर्न उपयुक्त हुने विचार राख्दै गठबन्धन नै गर्दा पनि सुनसरी क्षेत्र नं. १ मा भने संघ र प्रदेश वा दुवै प्रदेशमा कांग्रेस लड्नु पर्ने तर्क राखेका थिए ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरिएको भए नै राम्रो नतिजा आउने बताउंदँ धरानमा पूर्ण गठबन्धन नभई आंशिक गठबन्धन गरिनु पनि गलत भएको बताए । उनीहरुले पार्टीको चुनावी गठबन्धन नीति र सीट बाँडफाँट गलत हुनु नै हारको मुख्य कारण रहेकोतर्फ इगिंत गरे । गुटगत भावना र महाधिवेशनको तिक्तता पनि हारको अर्को कारण बनेको उनीहरुले औल्याए । संगठन राम्रो हुँदाहुँदै पनि केन्द्रीय नेतृत्वको कमजोरीका कारण कार्यकर्तामा उत्साह नआएको, विद्रोहीपन उत्पन्न भएको र गुटगत प्रतिशोध पैदा गराएकाले केन्द्रीय नेतृत्वलाई नै अनुशासनको कारबाही गर्नुपर्ने बताए । तथापि पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन प्रत्यक्ष भूमिका खेलेका स्थानीय नेता कार्यकर्तालाई भने अनुशासनको कारबाही गर्नबाट चुक्न नहुनेमा जोड दिए ।
सभापति तामाङले समीक्षा कार्यक्रमबाट आएका सुझाव, गुनासा र विचारमाथि स्थानीय नेतृत्वको बैठक बसी आवश्यक निर्णय लिइने बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद मिना सुब्बा, १ नं. प्रदेश सदस्यद्वय गणेश परियार र अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, महासमिति सदस्यहरु तिलक राई, जगतबहादुर कार्की र कृष्णकला मादने, प्रदेशसभा १ (१) र १ (२) सभापति क्रमशः अनिल श्रेष्ठ र मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, प्रत्यासी उम्मेदवारद्धय किशोर राई र बुद्धि कटवाल, महाधिवेशन प्रतिनिधि राजु साहलगायत जिल्ला, क्षेत्र, प्रदेशसभा, नगर, वडा र टोल समितिका नेता तथा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य अजय राई, बराहक्षेत्र ३ का वडाध्यक्ष राजदीप लामा, क्षेत्रीय प्रतिनिधि निर्मला गुरुङ, प्रदेशसभा १ (२) सचिव विजय घिमिरे, क्षेत्रीय सदस्य पदमसुन्दर लिम्बु, धरान ६ का कार्यवाहक सभापति वीरबहादुर कार्की, धरान ५ का वडा सभापति कुमार देवान, बराहक्षेत्र २ का वडा सभापति अमर कटवाल, क्षेत्रीय सल्लाहकार कर्णबहादुर कार्की, धरान १ का कार्यवाहक सभापति सुमन श्रेष्ठ, प्रदेशसभा सदस्य दिनेश न्यौपाने, प्रदेशसभा १ (१) का उपसभापति झुमादेवी राई, धरान १० का वडा सभापति पावेल राई, धरान १५ का वडा सचिव राजकुमार श्रेष्ठ, प्रदेशसभा १(१) सदस्य सुवास राई, क्षेत्रीय प्रतिनिधि पुष्पा ढकाल, शारदाप्रसाद भट्टराई लगायतले समीक्षात्मक विचार राख्नुभएको थियो भने क्षेत्रीय सचिव केशव पुरी, क्षेत्रीय सहसचिव सुमित राई, प्रदेशसभा १ (२) सचिव विजय घिमिरे र नेपाल शिक्षक संघका नगर सचिव भरत शाक्यले टिपोट गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधानले गर्नुभएको थियो ।