काठमाडौं,रासस । आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको समस्या नसुनेकोप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले किसानको पीडा नसुनेको बताउनुभयो ।
सांसद वासुदेव घिमिरेले कृृषिको आधुनिकीकरणका लागि कृषसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले मलखाद र बीउबिजनका लागि स्वदेशमै कलकारखाना निर्माण गर्नुपर्ने बताउनुभयो । सांसद तारा लामा तामाङले सिमानामा हुने अनियमितता र हिंसा रोक्न ध्यानाकर्षण गराउनुभयो । कञ्चनपुरको बेलौरीमा बन्द अवस्थामा रहेको छोटी भन्सारलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन ध्यानाकर्षण गर्नुभयो ।
उहाँले सिमानामा हुने हिंसा र अनियमतिता रोक्न ध्यानाकर्षण गराउनुभयो । तेजुलाल चौधरीले थारु आन्दोलन र थारु समुदायको भावनामाथि दमन गर्न काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दामोदर पौडेलेले फेवा तालको सिमाङ्कनको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
सांसद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र रुटको इजातजप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले मिर्गौला बिरामीका लागि डाइलासिस सेवा प्रभावकारी बनाउन पोखरामा डाइलासिस सेवा केन्द्र निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो ।
सांसद दीपक खड्का सङ्खुवासभा जिल्लामा हुने विद्युत् उत्पादनको करिब सात लाखको शेयर सस्तो ब्याजदरमा स्थानीयलाई उपलब्ध गराउन ध्यानाकर्षण गर्नुभयो । सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई तीव्र गति दिनुपर्ने बताउनुभयो ।
सांसद दुर्गा राईले भोजपुर जिल्लाको सडानन्द नगरपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई अन्याय गरेको बताउनुभयो । उहाँले जथाभावी सुरुङ खन्दा बस्ती नै जोखिममा परेकोप्रति ध्यानाकर्षण गराउनुभयो । सांसद धवलशमशेर राणाले नेपालगञ्जबाट भारतको विभिन्न क्षेत्रमा हुने हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गर्नुभयो । सांसद नारायणी शर्माले दाङ जिल्लाको सडक निर्माण अस्तव्यस्त हुँदा एक सय नौ जनाको मृत्युको भएको बताउनुभयो । उहाँले सडक निर्माण गर्न ध्यानाकर्षण गर्नुभयो । पुष्पबहादुर शाहले अछाम जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउने र घरबारविहीनलाई तत्काल राहत र व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रका बासिन्दाका लागि तत्काल ठोस नीति लिएर स्थानीयको उद्धार गर्नुपर्नेप्रति ध्यानाकर्षण गराउनुभयो । सांसद प्रकाश ज्वालाले सल्यान, दाङ र रुकुम जिल्लाको राप्ती लोकमार्गको तत्काल मर्मत र स्तरोन्नति गर्न ध्यानाकर्षण गर्नुभयो । सांसद प्रकाशमान सिंहले काठमाडौँमा दुई दशक लामो समयपछि भित्रिएको मेलम्ची खानेपानीलाई बाह्रै महिना उपलब्ध हुनुपर्ने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले साउनदेखि पारिश्रमिक नपाएकोप्रति ध्यानाकर्षण गराउनुभयो । सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण गर्न बनेको विधेयकलाई तत्काल संशोधन पेस गर्न ध्यानाकर्षण गराउनुभयो । सांसद प्रभुहजरा दुसाध भौतिक निर्माणका लागि स्थानीयलाई जग्गा मुआब्जा उपलब्ध गराउनुपर्ने बताउनुभयो । सांसद बद्रीप्रसाद पाण्डेले पूर्वाधार निर्माण तीव्रता दिनुपर्ने बताउनुभयो । सांसद प्रेमबहादुर महर्जनले ललितपुर जिल्लाका विभिन्न सडक चक्रपथकोे स्तरोन्नति र करिडोर खोल्न ध्यानाकर्षण गराउनुभयो । सांसद बलराम अधिकारी किसान सिचाँइ र मलको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भारतको खुला सिमानाबाट भित्रिने छाडा चौपायाले दुर्घटना बढाएको भन्दै सिमाना व्यवस्थापनमा ध्यानाकर्षण गराउनुभयो । सांसद दीलप्रसाद बडूले नेपाल-भारत र चीनको दार्चुला सडक आयोजना अपेक्षितरुपमा अघि नबढेको बताउनुभयो । उहाँले एक महिनायता रोकिएको उक्त सडक निर्माण चार वर्षमा सम्पन्न गर्नुपर्ने ध्यानाकर्षण गराउनुभयो । सांसद देवीप्रकाश भट्टचनले संवैधानिक सङ्कट आउन सक्नेप्रति ध्यानाकर्षण गराउनुभयो ।