काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अङ्कले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल ३९ लाख २२ हजार दुई सय १६ कित्ता शेयर एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ मूल्यमा कारोबार भयो ।
कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको छ करोड ४५ लाख ७३ हजार बराबरको कारोबार भयो । यस्तै युनिभर्सल पावर कम्पनी र पाँच करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स चार करोड ८९ लाख ६० हजार नौ सय ३२, हिमालयन डिस्टिलरी रु चार करोड ७७ लाख सात हजार पाँच सय एक र आशा लघुवित्त रु चार करोड तीन लाख ७३ हजार नौ सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त पाँच दशमलव ५१, युनिभर्सल पावर चार दशमलव ९९, सिभिल लघुवित्त चार दशमलव शून्य पाँच र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ८४ प्रतिशतले कमाएका छन् ।
यस्तै लक्ष्मी बैंकको ऋणपत्र नौ दशमलव ५८, बाराही हाइड्रोपावर चार दशमलव ६७, मिथिला लघुवित्त तीन दशमलव ८५, ग्लोबल आइएमई व्यालेन्स फण्ड एक तीन दशमलव ७५ र आरबिबी म्युचुअल फण्ड एकका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन् ।