नुवाकोट । जिल्लाको किस्पाङ गाउँपालिका ५ मा भएको बस दुर्घटनाका घाइते भेट्न नुवाकोटका सांसद र नेता सोमबार साँझ अस्पतालमा पुगेका छन् ।
प्रतिनिधिसभा सांसद एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हितबहादुर तामाङ, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेश सांसद हिरानाथ खतिवडा, कांग्रेस नेता महेन्द्र थिङ लगायत नेता, कार्यकर्ता वीर अस्पतालको ट्रमा सेन्टर र ग्रान्डी अस्पतालमा पुग्नु भएको हो ।
'किस्पाङ बस दुर्घटनामा परी घाइते भएका यात्रुहरुलाई ग्रान्डी र ट्रमा अस्पतालमा पुगि उहाँहरुको अवस्थाबारे प्रतिनिधिसभाका माननीय सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, प्रतिनिधिसभाका माननीय सांसद बहादुरसिंह लामा, प्रदेश सांसद हिरानाथ खतिवडालगायत नेताज्युहरुले जानकारी लिँदै उपचारमा सहजीकरण र स्वास्थलाभको कामना गर्नुभयो,' अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रदीप शर्माले भन्नुभयो ।
दुर्घटनामा घाइतेमध्ये १० जनाको ग्रान्डी र ट्रमा सेन्टरमा उपचार जारी छ । ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङका रमेश तामाङको मृत्यु भएको छ । जिल्ला अस्पतालले त्रिशूलीका अनुसार दुर्घटनामा ५२ जना घाइते भएका छन् । जसमध्ये ३४ जना डिस्चार्ज भइसकेका छन् ।
नुवाकोटको भाल्चेबाट काठमाडौंका लागि छुटेको बा ४ ख ५७६२ बस किस्पाङको वडा नं ५ स्थित भुमेस्थानमा सोमबार बिहान करिब १० बजेर २५ मिनेट जाँदा सडकको भित्तातर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।