लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेको दर्शन गर्नुभएको छ । यसअघि पनि दुई पटक गुम्बा दर्शन गरिसक्नुभएका राजदूत रेग्मीले आइतबार १७ अक्टोबरका दिन पुनः दर्शन गर्नुभएको हो ।
१६ अक्टोबरदेखि ३ दिनका लागि आयोजना भइरहेको बौद्ध धर्ममा अत्यन्त महत्व रहेको गणचक्र (छोकबुम) पूजाको दोस्रो दिन उहाँसहित धर्मपत्नी, राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा उहाँका श्रीमान्को समेत सहभागिता थियो । राजदूत रेग्मीले गुम्बाभित्र रहेका गौतम बुद्धको प्रतिमामा बत्ति बालेलगत्तै गुम्बाका लामा खेन्पो कुन्ख्यापले बुद्ध धर्मसँग सम्बन्धित प्रवचन सुनाउनुभएको थियो । सो अवसरमा बौद्धमार्गीप्रति आफ्नो विश्वास रहेको बताउँदै सो प्रवचनले अत्यन्त मन छोएको राजदूत रेग्मीले अनुभूति सुनाउनुभयो ।
त्यस्तै, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यवाहक अध्यक्ष समेत रहनुभएका बिसीसी युकेका अध्यक्ष धर्म तामाङले राजदूत रेग्मीले छोटो समयमा पनि भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन मुद्दामा विशेष योगदान दिएकोमा आभार व्यक्त गर्नुभयो । गणचक्र पूजाको मध्यान्तरमा गरिएको राजदूत रेग्मीको दर्शनको क्रममा बिसीसी यूकेका धर्म गुरुहरु, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार डा. कपिल रिजाल लगायतको उपस्थिति रहेको थियो ।
बिसीसी यूकेका महासचिव क्याप्टेन देब घलेले संचालन गरेको दर्शन कार्यक्रममा बिसीसी यूकेका अध्यक्ष तामाङ र आमा अध्यक्ष उर्मिला गुरुङले राजदूत रेग्मी दम्पतीलाई पष्पगुच्छासहित मायाको चिनो प्रदान गर्दै बिदाई समेत गर्नुभएको थियो ।
नेपाल सरकारले पूर्ववर्ती ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै राजदूतहरुलाई नेपाल बोलाउने क्रममा राजदूत रेग्मीसमेत नेपाल फर्कन लाग्नुभएको हो ।