चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।” कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उहाँको भनाइ थियो ।
नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो । प्रवक्ता डा महतले थप्नुभयो, “ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ ।”
कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा प्रवक्ता डा महतले अहिलेको गठबन्धन महत्वकाङ्क्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “राजा चाहिन्छ भन्ने पनि छन् । चाहिँदैन भन्ने पनि छन् । यसले के अर्थ दिन्छ ?”