काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै माओवादीहरुको एकता हुने बताउनुभएको छ । जनयुद्धको २८ औं वार्षिकोत्सवको अवसरमा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित पक्षसँग छलफल जारी रहेकोले माओवादी एकता र समाजवादी मोर्चा बन्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धलाई सरकारले सबैको साझा बनाउने गरी सार्वजनिक बिदा दिने आइतबार निर्णय गरेको प्रसंग सुनाउनुहुँदै माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन अपिल गर्नुभयो ।
'हामी अब एउटा संकल्पसहित अगाडि जानुछ । म यो ऐतिहासिक दिनमा भर्खरे नेपाल सरकारबाट भएको निर्णयका सन्दर्भमा पनि सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहरुलाई अब एकताबद्ध भएर फेरि सामाजिक न्याय र रुपान्तरणका निम्ति अपिल गर्न चाहन्छु,' उहाँको भनाइ थियो, 'यो हामी सबैको निम्ति गर्व र खुसीको कुरा पनि हो ।'
प्रधानमन्त्री प्रचण्डले छिट्टै पार्टी एकताको अर्को प्रक्रिया आउने विश्वास व्यक्त गर्नुभयो । 'केही समयदेखि आन्दोलनलाई एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढेको छ । सबैले आ-आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । म आफैंले पनि धेरै समूहका नेतृत्वसँग छलफल गरेको छु । मलाई विश्वास छ, छिट्टै पार्टी एकताको अर्को प्रक्रिया आउने छ । त्यसले आममाओवादी नेता, कार्यकर्ता मात्रै होइन आमनेपाली जनतालाई पनि फेरि एक पटक नयाँ ढंगले उत्साहित गर्नेछ । नयाँ ढंगले संगठित गर्ने वातावरण बन्नेछ ।'
उहाँले कम्युनिस्ट, समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने भन्ने सैद्धान्तिक सहमति बनेको भन्नुहुँदै त्यो मोर्चा भविष्यमा नेपालको नेतृत्व गर्ने वैकल्पिक शक्ति हुने बताउनुभयो । '
'कम्युनिस्ट आन्दोलनका । समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने भन्ने सैद्धान्तिक सहमति बनेको छ । मलाई विश्वास छ, छिट्टै नै समाजवादी मोर्चा बन्छ। नेपालको भोलिको नेतृत्व गर्नका लागि विकल्पको रुपमा आउने विश्वास मैले लिएको छु । यसमा पार्टीका नेता, कार्यकर्ता सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्नेछ,' उहाँको भनाइ थियो, 'एकतातिर पार्टी एकता र अर्कोतिर समाजवादी मोर्चा निर्माण प्रक्रियाबाट नेपालमा अहिले जे अप्ठ्यारा छन् तीनलाई सकारात्मक दिशा दिने र विकासको नयाँ प्रक्रिया अगाडि लैजानु पर्नेछ ।' उहाँले निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्ध पूरा गर्नुपर्ने सन्दर्भमा आफूलाई सरकारको नेतृत्व आउनु सुखद् पक्ष भएको बताउनुभयो । तर, यसलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उहाँको भनाइ थियो ।
'सरकारको नेतृत्व गर्ने अवसरलाई मैले चुनौतीपूर्ण रुपमा लिएको छु । र, हामीलाई असफल हुने विल्कुल छुट छैन । हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्ने छ । त्यसरी मात्रै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठीक ढंगले कार्यान्वयन गर्न सकिन्छ ।'
उहाँले प्रतिनिधिसभामा सरकारलाई पाएको अपार समर्थन माओवादी आन्दोलनप्रतिको सम्मान भएको टिप्पणी गर्नुभयो । 'हामीले निकै जटिल परिस्थितिबाट नेपाल सरकारको नेतृत्व गर्ने अवसरमा छौं । र हामीलाई यो पनि गर्वको कुरा हो । प्रतिनिधिसभामा झन्डै शतप्रतिशत समर्थन हामीलाई प्राप्त छ । यो समर्थन हामीप्रति, हाम्रो आन्दोलनप्रति, तमाम शहीदहरुप्रति, बेपत्ताहरु सम्मानको कुरा पनि हो । न्यायको कुरा पनि हो । यसले हामी सबैको पुनर्निर्माण गर्ने, आन्दोलन अझ अगाडि बढाउने र जनताको भावना र आवश्यकताअनुसार काम गर्ने जिम्मेवारी थपिएको छ सबैको काँधमा छ । '