सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाले २८ औं जनयुद्ध दिवसको अवसरमा राज्यले घोषणा गरेका ५० जना सहिद परिवार र अनाथ एवं द्वन्द्वपीडित ६८ विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
गाउँपालिका भवन कपिलाकोटमा सोमबार आयोजित 'सहिद परिवार सम्मान तथा अनाथ एवं द्वन्द्वपीडित बालबालिकालाई छात्रवृत्ति वितरण' कार्यक्रममा प्रमुख अतिथि एवं संघीय सांसद लेखनाथ दाहाल 'राजन', प्रदेश सांसद सुष्पा भुजेल, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान 'प्रख्यात'ले सहिद परिवारलाई जनही २० हजार रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।
यस्तै अनाथ एवं द्वन्द्वपीडित विद्यार्थीहरु १ देखि ८ कक्षासम्मलाई ८ हजार, १० कक्षामा अध्ययनरतलाई १० हजार र ११-१२ कालाई १२ हजार रुपैयाँका दरले छात्रवृद्धि रकम प्रदान गरिएको छ । जसमा ७ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ ।
५० जनाभित्र नपरेका बेपत्ताका दुई परिवारलाई पनि मरिणले २० हजार रुपैयाँका दरले सहयोग दिएको छ ।
अनाथ एवं द्वन्द्वपीडित बालबालिकाको अध्ययनले निरन्तरता पाउन् भन्ने उद्देश्यले विद्यार्थीलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको अध्यक्ष मुक्तानले जानकारी गराउनुभयो । उहाँले सहिद परिवार र विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमलाई पालिकाले निरन्तरता दिने पनि प्रस्ट पार्नुभयो । मरिण गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा अघिल्ला वर्षदेखि नै सहिद परिवार सम्मान कार्यक्रमलाई जारी राखेको छ ।
अध्यक्ष मुक्तानले आफ्नो कार्यकालभित्र सहिद परिवारलाई दिइने राहत रकममा १ लाख पुर्याउने घोषणा गर्नुभयो । गत वर्ष प्रतिपरिवार १० हजार ५ सय दिइएकोमा यस वर्ष २० हजार रुपैयाँ पुर्याइएको हो ।
कार्यक्रममा जिल्लाको तीन पाटन गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामी मगर, गोलान्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने 'पुकार', मरिण गाउँपालिका उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, मरिणका निवर्तमान अध्यक्ष एवं नेकपा माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जनसहित विभिन्न दलका नेता, पालिकाका विभिन्न शाखाका कर्मचारी, समाजसेवी, स्थानीयलगायत उपस्थिति थियो ।
तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि थालेको जनयुद्धको अवसरमा सोमबार देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । जनयुद्ध दिवसको अवसरमा केन्द्र सरकार, वाग्मती प्रदेश सरकार र विभिन्न स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन् ।