सिन्धुली । नेकपा माओवादी केन्द्रका नेताहरुले देश परिवर्तनमा जनयुद्धको योगदान ठूलो हिस्सा भएको बताउनुभएको छ ।
जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र मरिण गाउँ समितिको आयोजनामा सोमबार भएको बृहत् कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, पोलिटब्युरो सदस्य तथा सिन्धुली-२ बाट निर्वाचित संघीय सांसद लेखनाथ दाहाल र प्रदेश सांसद सुस्पा भुजेलले देश परिवर्तनमा माओवादीले ठूलो भूमिका खेलेको र २८ वर्षअघि फागुन १ गते सुरु गरिएको जनयुद्धले नागरिकलाई धेरै अधिकार र सुविधा दिलाउन सफल भएको बताउनुभएको हो । उहाँहरुले आदिवासी जनजाति, दलित, महिलालगायत पछि पारिएका वर्गलाई जनयुद्धले चेतना जगाउँदै परिवर्तन दिलाएको धारणा राख्नुभएको थियो ।
जनयुद्धको उद्देश्य सबै पूरा नभए पनि धेरै परिवर्तनको आभास नागरिकलाई गराउन सकेको भन्दै उहाँले निरन्तर माओवादी केन्द्र नागरिकको पक्षमा लागिरहने विश्वास दिलाउनुभयो ।
माओवादी केन्द्र मरिणका अध्यक्ष काजीमान थिङले सञ्चालन गर्नुभएको कार्यक्रममा माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जन, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, तीनपाटन गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामी मगर, गोलान्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका माओवादी नेता तथा कार्यकर्ता, मरिणका नागरिक र सहिद परिवारको बाक्लो उपस्थिति थियो ।
माओवादी केन्द्रलगायत माओवादी विचारधाराकाहरुले फागुन १ गते हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएका छन् । २०५२ साल फागुन १ गते तत्कालीन सरकारका विरुद्ध नेकपा माओवादीले युद्ध थालेको दिनको सम्झनामा जनयुद्ध दिवस बनाउने थालिएको हो । यस वर्षदेखि नेपाल सरकारले समेत जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।