काठमाडौं । प्रतिनिधिसभा बैठकमा एकैदिन नुवाकोटका ३ सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र कांग्रेसकै समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्नुभएका डा प्रकाशशरण महतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठक सुरु हुने बित्तिकै सभामुखसँग समय माग गरेर नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोगको प्रस्तावमा के भइरहेको छ भनी प्रश्न गर्नुभएको थियो । संसद्मा भएका कानुन अर्को अधिवेशनमा निष्क्रिय हुने, तर महाअभियोगका विषयमा संविधान र प्रतिनिधिसभा नियमावलीमा कुनै कुरा उल्लेख नभएकाले सर्वोच्चको अन्तरिम आदेशका आधारमा पेस गर्न सांसद केसीले माग गर्नुभयो । अहिलेको जसरी महाअभियोगलाई तरबार झुन्ड्याए जसरी राख्नु कानुनको उपहास र संविधानवादको विरुद्धमा भएकाले यसलाई टुङ्गोमा पुर्याउन उहाँले आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले गत असार २१ गते नियुक्त भएका पाँच आयुक्तले सेवा सुविधा नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संविधान, ऐन, कानुनबमोजिम आयुक्तहरु पारिश्रमिक दिलाउन माग गर्नुभयो ।
नेपालको संविधानको धारा २८७ मा भाषा आयोगसम्बन्धी व्यवस्था छ । त्यस व्यवस्थाअनुसार नेपाल सरकारले २०७९ असार २१ गते पाँच जना भाषा आयुक्तहरु नियुक्त गरेको थियो । बिडम्बना के भएको छ भने ती पाँच जना आयुक्तहरु अमृत योञ्जन तामाङ, मातृकाप्रसाद पोखरेल, कृष्णप्रासद न्यौपाने, गोपालजीप्रसाद सर्राफ, डा. अमर गिरीले नियुक्ति पत्रमा उल्लेख भएअनुसार पाउने भनिएको केही पनि सेवा सुविधा पाउनुभएको छैन, यस विषयमा सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'
कांग्रेसका सांसद डा प्रकाशशरण महतले नयाँबसपार्कमा सोमबार भएको घटनामा सरकारको ध्यानाकर्षण गराउँदै साना व्यवसायीको मोबाइललगायत पसलमा दिनदहाडै लुटपाट मच्चिँदा पनि सरकारले शान्ति सुरक्षा दिन नसकेको बताउनुभयो । मिनी बस र बस व्यवसायीले कानुनअनुसार पार्किङ सुविधा पाउनुपर्ने र मजदुरका नाममा भएका गतिविधिका दोषीलाई छानबिन गरी कानुनी कारबाही गर्न उहाँले माग गर्नुभयो । मजदुरका नाममा गैरमजदुर प्रवेश गरेर घटना भएको हो कि भनी उहाँले यथार्थ छानबिन हुनुपर्नेमा जोड दिनुभयो । यो घटनामा तत्काल परिणाम आउने गरी काम गर्न र यातायात मजदुरका जायज माग सम्बोधन गर्न पनि सांसद महतले आग्रह गर्नुभएको थियो ।