काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद चन्द्रकान्त भण्डारीले पञ्चायतकालमा जनजातिहरुलाई रक्सी उत्पादन गर्न दिइए पनि अहिले प्रहरी लगाएर रोक लगाउनु आपत्तिजनक रहेको बताउनुभएको छ ।
पछिल्लो प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुँदै सांसद भण्डारीले जनताले बनाएको रक्सी पुलिस लगाएर फाल्ने र होलीवाइन खाएर गर्व गर्ने संस्कार बढ्दै गएको भन्दै असन्तोष व्यक्त गर्नुभएको हो । 'आज हामीले भनौंला कोदो दिवस मनाउँदैछौं विश्वमा सभामुख महोदय । आज हामीले बाहिरबाट ल्याएर रक्सीका पसलहरुमात्रै थापिरहेका छौं । पञ्चायतको बेलामा जनजातिहरुलाई रक्सी उत्पादन गर्न दिइन्थ्यो, सांस्कृतिक चाडका निम्ति,' उहाँले भन्नुभयो, 'आज हामीले जनताले बनाएको रक्सीलाई पुलिस लगाएर भाँडा फुटालिदिन्छौं । तर होलीवाइन ल्याएर खान हामी गर्व गर्छौं ।'
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको हिसाबले सम्पन्न भए पनि परनिर्भरता बढेको प्रति सांसद भण्डारीको आपत्ति थियो । 'हामीसँग के छैन सभामुख महोदय ? प्राकृतिक स्रोत साधन छन् । जानकी छन् । पशुपतिनाथ छन् । हलेसी छन् । लुम्बिनी छन् । मुक्तिनाथ छन् । तर हामी के भइरहेका छौं । उत्पादन राम्रो छ । त्यसै कारणले त विष्णु माझीले भनेकी छन्, 'छेउमै छ लालीगुराँस, प्याउली किन हेर्छौं,' उहाँको भनाइ थियो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा दमदार भाषण गर्नुभएका भण्डारी घरमै खाना पकाउने ग्यास सिलिन्डर पड्किएर घाइते हुनुभएको छ । बुधबार राति घाइते हुनुभएका उहाँलाई बिहीबार बेलुकी मुम्बई पुर्याइएको छ । भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको उपचार समन्वयमा सँगै रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।
बैठकमा सांसद भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीको फाइल पल्टाएर कारबाही गर्नुको सट्टा मोबाइलमा टोन बजाएर नाटक गरिरहेको पनि टिप्पणी गर्नुभएको थियो । उहाँले अख्तियारलाई त्यस्तो नाटक मञ्चन नगर्न आग्रह गर्नुभयो । ‘हामी बिहानै फोन लगाउँदा सुन्छौं, भ्रष्टाचार गर्नु अपराध हो–अख्तियार दुरुपयोग अनुसन्धान आयोग,’ भण्डारीले प्रश्न गर्दै भन्नुभयो, ‘त्यो अख्तियारले भ्रष्टाचारीको फाइल नखोलेर किन मोबाइल टोन बजाइरहेको हो ? फाइल खोलेर दोषीलाई थुन्न कसले छेकेको छ ? होइन भने यो मोबाइलमा टोन बजाएर किन बसिरहेको हो ? आखिर नेपालमै यस्तो नाटक किन भइरहेको छ ?’
उहाँले स्रोत साधनको उपयोग गरेर सरकारले नागरिकका समस्याहरूको समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।