काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो । नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१ रन बनाउँनुभयाे । कूल ९८ बल खेलेको उनले आठ चौका र दुई छक्का प्रहार गर्नुभयो । त्यसैगरी ज्ञानेन्द्र मल्लले ६५ रन बनाए भने कुशल मल्ले ६२ रन जोड्नुभयाे । कप्तान रोहित पौडेलले ३९ रन बनाउँनुभयाे भने सोमपाल कामी आठ रनमा अविजित रहँदा सन्दीप जोराले तीन तथा कुशल भुर्तेलले एक रन बनाउँनुभएकाे थियो ।
बलिङतर्फ नामिबियाको रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिनुभयाे भने बेर्नाड स्कोटजले दुई विकेट लिनुभयो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो ।
नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिनुभयाे । उहाँले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गनृुभयाे । नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाउँनुभयाे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिनुभयाे ।
यस्तै करण केसीले एक विकेट लिनुभयाे । त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेल यही फागुन ९ गते स्कटल्याण्डसँग खेल्नेछ ।