कास्की,रासस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिनुभएको छ । पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “माथि माथिकाले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन । हामी आफ्नाआफ्ना कुरामात्र लिएर आउने भइयो । दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला । जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।” प्रधानमन्त्री दाहालले हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफूले डकुमेण्ट बनाउने र त्यसलाई केन्द्रीय समितिमा लग्ने बताउनुभयो । उहाँले केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना रहेको जानकारी दिनुभयो ।
“पार्टी एकताको सम्भावना भएकासँग एकता गर्ने, नभएकासँग समाजवादी मोर्चा बनाउने र छलफल गर्दै गएर बामपन्थी धुव्रिकरणको बाटो अबलम्बन गर्नुपर्ने हुन्छ ।” प्रधानमन्त्रीले भन्नुभयो”, केही समूहसँग तत्काल पार्टी एकतासमेतको सम्भावना देखिएको छ । यसरी पार्टीलाई पुनःगठन गर्दै जनआधार विस्तारको सम्भावना पैदा हुन्छ ।” जनतालाई आशा दिलाउने काम अहिलेको सरकारले गरेकाले जनतालाई सरकारका काम बुझाउन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रधामन्त्री दाहालले १२ बुँदे सहझदारीका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने अवस्था अहिले रहेको बताउनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा भइसकेकाले देशको आर्थिक, राजनीतिक, सांस्कृतिक पक्षलाई हेर्दा संविधान, गणतन्त्र र शान्ति सम्झौताका लागि काम गरेका पार्टी एक ठाउँमा अभिनुपर्ने बेला आएको बताउनुभयो ।