घ्याङस्वाँरा पार्क । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जनयुद्धका क्रममा शाहदत प्राप्त १३ जना सहिदहरुका अर्धकदको सालिक अनावरण गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं. १ का संघीय सांसद हितबहादुर तामाङ, अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य तथा निवर्तमान उपसभामुख राधिका तामाङलगायतको उपस्थितिमा शनिबार पञ्चकन्या गाउँपालिका-४ घ्याङस्वाँरामा सहिद स्मारक पार्कमा निर्मित सालिक अनावरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अथिति र गाउँपालिका अध्यक्ष तेजबहदुर तामाङले दोसल्ला ओढाएर सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङले सहिदहरुको सम्मान गर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले आज अनावरण गरिएको सालिक मानव जीवन रहेसम्म रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सांसद राधिका तामाङले यसअघि राज्यले गर्न नसकेको जनयुद्धका सहिदहरुको सम्मान पञ्चकन्या गाउँपालिकाले दिएर प्रशंसनीय काम गरेको भन्नुहुँदै गाउँपालिका अध्यक्षलगायत सबै टिमलाई धन्यवाद दिनुभयो । उहाँले अरु गाउँपालिकाको तुलनामा पञ्चकन्या गाउँपालिकाले विकास र सुशासनको निमित्त राम्रो काम गरेर धेरै अघि रहेको उल्लेख गर्नुभयो । पञ्चकन्याका विकासका लागि गाउँपालिकामात्रै नभई सबै पक्षले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पञ्चकन्या गाउँपालिकाले 'प्रधानमन्त्री रोजगार कार्यक्रम'अन्तर्गत निर्माणाधीन घ्वाङस्वाँरा पार्कमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा सहादत भएका १३ जना सहिदहरुको अर्धकदको सालिक निर्माण गरेको छ । जसमा वडा नम्बर १ का सुमन तामाङ (दिपेश), मधुकर राई, रामकृष्ण राई, वडा २ का श्रीकृष्ण राई, रामशरण नेपाली, वडा ३ का ईश्वर थापा, वडा ४ का समुन्द्र मल्ल ठकुरी (अजित), वडा नम्बर ५ का केशवराज पाण्डे, गौरी सिटौला, शिवशरण भारती, पुरुषोत्तम खतिवडा र सुनिलकुमार तामाङ रहनुभएको छ ।
कार्यक्रममा पञ्चकन्या, शिवपुरी गाउँपालिका, तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष, पञ्चकन्या गाउँपालिका कार्यपालिका सदस्य, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, सहिद तथा वेपत्ता परिवारजन र स्थानीयको उपस्थिति थियो ।