काठमाडौं । विगत केही दिन देखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार ती प्रदेशहरुमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पुर्याएको छ ।
क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताउनुभयो ।
‘तीन वटा प्रदेशका एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा असर परेको र जसमध्ये ६७ हजार ९१९ हेक्टरको धानमा पूर्ण क्षति पुगेको छ,’ प्रवक्ता सञ्जेलले भन्नुभयो । दुई लाख ५८ हजार ९२ मेट्रिक टन धान वर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान छ ।
सबैभन्दा धेरै क्षती लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा परेको छ । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पुर्याएको छ ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पुर्याएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ ।
प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातले धेरै क्षति पुर्याएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिक टन पाकेको धानमा क्षति पुगेको छ ।
वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआई सकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।