नुवाकोट । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले नुवाकोटको बट्टारमा निर्माणाधीन केन्द्रीय कारागार शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । शनिबार निर्माणाधीन केन्द्रीय कारागार निरीक्षणपछि मन्त्री श्रेष्ठले निर्माणाधीन केन्द्रीय कारागार शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
'आज नुवाकोटको बट्टारमा निर्माणाधीन केन्द्रीय कारागार पनि निरीक्षण गरेँ । झन्डै ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको जानकारी दिए पनि निर्माण कार्य अझै निकै नै बाँकी रहेको देखियो,' उहाँले भन्नुभयो,'कारागारमा रहेका समस्याहरू समाधानका लागि पहल गर्ने प्रतिबद्धता र निर्माणाधीन केन्द्रीय कारागार शीघ्र सम्पन्न गर्न आवश्यक निर्देशन दिएँ ।' त्यसअघि मन्त्री श्रेष्ठले नुवाकोट जिल्ला कारागार निरीक्षण गर्नुभएको थियो ।
निरीक्षणको क्रममा कारागारभित्र स्वास्थ्योपचार, पानी, इन्धन, यातायात साधनको समस्या रहेको अवगत भएको र सिपमूलक तालिमको व्यवस्था गर्नुपर्ने माग पनि बन्दीहरूले गरेको उहाँले जानकारी गराउनुभयो । यसअघि मन्त्री श्रेष्ठले प्रदेशभित्रका सिन्धुली, मकवानपुर, धादिङलगायत जिल्लाका कारागार निरीक्षण गर्नुहुँदै त्यहाँका बन्दीहरुका समस्याहरुबारे जानकारी लिनुभएको थियाे ।
मन्त्री श्रेष्ठ शनिबार नै नुवाकोट जिल्ला समन्वय समितिको हलमा प्रदेश सूचना पुनरावेदन समिति वाग्मती प्रदेशको आयोजना गरेको `सूचनाको हक प्रवर्द्धन कार्यक्रम´मा सहभागी हुनुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेश सरकारले सूचनाको हकलाई तल्लो वर्गमा कार्यान्वयन गर्ने बताउनुभयो ।
सँगै उहाँले सूचनाको हक तल्लो वर्गसम्म पुर्याउन सरोकारवाला निकायलाई निर्देशनसमेत दिनुभएको थियो । कार्यक्रममा नुवाकोट, धादिङ र रसुवा जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीहरू उपस्थित थिए ।