घलेभञ्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँकी सुनलक्ष्मी तामाङ (७५) सदाझैं शुक्रबार बिहानै घाँस काट्न घलेभञ्ज्याङ चौतारामुनी रहेको खरबारी पुग्नुभयो । भैँसी र बाख्रालाई घाँसपात ल्याउन जानुभएका उहाँलाई घाँस काट्दा काट्दै कानमा किरा पसेजस्तो लाग्यो । बारीमा जुका लाग्ने, पुतली र भुसुनाजस्ता किरा फट्यांग्रा आइरहने भएकोले खासै वास्ता गर्नुभएन ।
त्यत्तिबेला बिहानको करिब ८ बजेको थियो । त्यसपछि लामो समयसम्म कानमा पसेको किरा बाहिर ननिस्कने र असजिलो महसुस भएपछि घर फर्कनु भयो । परिवारका अन्य सदस्यलाई कान देखाउँदा त जुका पसेको रहेछ भनियो । गाउँघरमै मेलापात र घाँसदाउरा गरेर ७५ बसन्त पार्दा हातखुट्टा र शरीरका अन्य भागमा लागेको जुका सजिलै झार्दै र फ्याँक्दै आएका सुनलक्ष्मीलाई यो चोटि भने फसाद पर्यो कानको जुका निकाल्न नसकेर । शान्त बसौं भने कानमा असजिलो भइरहेको थियो ।
के गर्ने होला भन्ने उपाय सोधखोज गर्दा करिब दुई घण्टापछि 'आइडिया' फुर्यो मेडिकल जाने । परिवारको साथमा करिब १० बजे घरबाट ५ मिनेटको बाटोमा रहेको पञ्चकन्या गाउँपालिकाको अस्थायी कार्यालय रहेको घलेभञ्ज्याङस्थित मेडिकल पुग्नु भयो । मेडिकलमा चिकित्सकले सुनलक्ष्मीको कानमा पसेको जुका निकालेर सफा गरिदिए । अब त मुक्ति पाइएला भन्ने सोच बन्यो । अनि फर्कनुभयो घर ।
तर १० बजे जुका निकालिए पनि घन्टौंसम्म सुनलक्ष्मीको कानबाट रगत बग्न नछाडेपछि काठमाडौंमा रहनुभएका भाइ हिमबहादुर तामाङ र बहिनीहरुलाई सुनाउनुभयो । कानजस्तो संवेदनशील अंगमा रगत बगेको बग्यै भएमा श्रवण शक्तिमा असर पर्ने भएपछि पारिवारिक सल्लाहमा हस्पिटल लैजाने निधो भयो । अपराह्न ४ बजे गाउँमै एम्बुलेन्स डाकेर सुनलक्ष्मीलाई काठमाडौं दौडाइयो । घलेञ्ज्याङ-कविलास-छहरे-गुर्जेभन्ज्याङ हुँदै करिब ५० किलोमिटरको बाटो पार गरेर काठमाडौं धुम्बाराहीमा ल्याइपुर्यायो सुनलक्ष्मीलाई ।
काठमाडौं आइपुग्नु र कानबाट रगत बग्न बल्ल तल्ल आफैं रोकिन पुग्यो । 'अहिले सुधार आको छ । शनिबार अस्पताल लाने कुरा आएन । अब आइतबार त्रिवि शिक्षण अस्पतालमा एक पटक देखाउन लैजाने तयारी छ,' सुनलक्ष्मीका भाइ हिमबहादुर तामाङले भन्नुभयो । सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीं सानो घटनाले ठूलो समस्या जस्तै बन्छ भन्ने उदाहरण सुनलक्ष्मीको कानमा पसेको जुका बनेको छ ।
के हो जुका ?
पानी जुका १
जुका एनिलिडा समूहअन्तर्गत पर्ने प्राणी हो । प्राय: पहाडी भू-भागमा वर्षायाममा पाइने यो जुकालाई पानी जुकाको नाम दिएको पाइए तापनि यो जुका पानीमा बस्दैन । पानीको आसपास भने बस्छ । यो जुका पनि पानीमा बस्ने पहाडी जुकाजस्तै हुन्छ तर यो जुका टाउको र पुछर टेकेर खानाको खोजीमा एक ठाउँदेखि अर्को ठाउँमा विचरण गर्न सक्छ । यो जुकाले अन्य जीवहरूको बाहिरिए शरीरमा टाँसिएर रगत चुस्ने गर्छ ।
शरीर पानीले भिजेको छ अथवा चिसो छ भने शरीरमा जुकाको प्रवेश थाह पाउन आँखाले नदेखेसम्म असम्भव हुन्छ । सुखेको ओबानो शरीरमा भने जुकाको प्रवेश स्पर्सबाट थाह पाउन सकिन्छ । जीव जनावरहरू तथा मान्छेको आवातजावत गर्ने बाटोमा यो जुका आहाराको प्रतिक्षा गर्छ । कसैको आवागमनको चाल पाउने बित्तिकै छिटो छिटो शरीरमा टाँसीएर रगत चुस्न सुरू गर्छ । करिब आधा घण्टासम्म रगत चुसेर टन्न भुँडी भरेर झर्छ । जुका झरेपछि जुकाले खाएको भन्दा बढी रगत बगेर जान्छ ।
यो जुका पहाडी प्रदेशमा वैशाखदेखि असोजसम्म देखिन्छ । त्यसपछि चिसो र सुखायाममा यो ढुंगामुनी अथवा कुनै पनि सेपीलो ठाउँमा बस्छ । भनिन्छ जुकालाई टोकाएर रक्त विकार (रगत खराबीको कारणले हुने) सम्बन्धीका रोगहरू निको बनाउन सकिन्छ । कोही कोहिले सानो तिनो घाउ खटिरा भएर पाक्न थालेमा जुकालाई त्यो ठाउँमा टोकाउने गरेको देखिन्छ । जुकालाई काटेर जति टुक्रा बनायो त्यति नै जुका बन्दछन् भन्ने भनाइ रहेको छ । यो जुका लाग्ने ठाउँमा जानुभन्दा पहिले खुट्टामा टिमुर, नुन, सुर्तीको पानी दलेर हिंड्यो भने जुका खुट्टामा टाँसिन सक्दैन । पछिल्लो समय स्यानीटाइजर पनि जुकाको औषधि बनेको अनुभवीहरु बताउँछन् ।
पानी जुका २
यो पानी जुका पानीमा नै बस्छ पानीबाट बाहिर आएमा अथवा सुखा ठाउँमा यो जुका बाँच्न सक्दैन । यो जुकाको लम्बाई मुस्किलले १ से.मी हुन्छ । यो जुका बाह्रै महिना नसुक्ने पानीको मुहानमा बस्छ । कुनै पशूले पानी खाएमा यो जुका पशूको नाकमा प्रवेश गर्छ । पशुमात्र नभएर मान्छेको नाकमा पनि पस्न सक्छ। यदी जुका भएको पानीमा मान्छेले ध्यान न पुर्याएर पानी खाएमा जुका मान्छेको नाकमा पनि पस्छ । नाकमा पस्दा कति पए कसैलाई थाह हुँदैन यसको शरीर अत्यन्त चिप्लो, मसिनो र सानो भएकाले नाकभित्र जाँदा थाहा पाउन गाह्रो छ । नाकभित्र पसिसके पछि कम्तीमा पनि १५ दिन सम्म बाहिर देखिदैन ।
भनिन्छ तबसम्म जुका उल्टो फर्केको हुँदैन जुका नाकमा भएको पशु तथा मान्छेको नाकबाट पहिले पहिले रगत बगेको देखिन्छ जुका उल्टो फर्कि सके पछि रगत बग्दैन बरु पानी खान लाग्दा पानी खानको लागि जुकाले मुख बाहिर निकालेको देखिन्छ । पानीमा छँदा १ से.मी.को लम्बाइमा हुने यो पर जीवी नाख भित्र दिन प्रति दिन बढ्दै जान्छ । नाकमा बसेर यसको लम्बाई कम्तीमा पनि १५ देखि २० से.मी. र मोटाई ५ से.मी सम्म हुन्छ । यदी कुनै पशू अथवा मान्छेको नाखमा जुकाको संख्या एक भन्दा धेरै भएमा दिन प्रतिदिन बढ्दै जाने भएका कारण स्वाँस लिन गाह्रो भएर कतिपए पशुहरू त मरेको पनि देखिन्छ । यो जुका कम्तीमा पनि तिन चार महिनासम्म नाकमा बसेर रगत चुस्दै रहन्छ यदी पानी खाने बेलामा बाहिर मुख निकालेको मौका हेरी च्याप्प समातेर बाहिर तान्न सकिन्छ तर यो काम धेरै कम सम्भव छ ।
जुका अत्यन्तै चिप्लो भएकाले रुमालको बिना खाली हातले समातेमा फुत्केर जान्छ फेरी धेरै दिन सम्म बाहिर देखा पर्दैन । यदी जुकालाई झार्नु छ भने जुका नाखमा भएको मान्छे तथा पशुलाई लामो समय पछि पानी खान दिएमा जुका झर्न सक्छ यो उपाय पनि धेरै कम सम्बभ छ । जुका भएको मान्छे अथवा पशूको नाकमा तम्बाकुको पानी त्यो नभए नुन पानी अथवा टिमुरको रस हालेमा जुका सजिलै निस्किन्छ तर नाकमा भने असर पर्छ । स्वाँस फेर्दा पानी नाकभित्र पसेमा असर हुने सम्भावना हुन्छ ।
पानी जुका ३
यो जुका तराई क्षेत्रमा गर्मीयामको बेला पानी जमेको ठाउँमा जस्तै ताल, पोखरी, धानको खेत आदी ठाउँमा पानीमा बस्छ। यो जुका पानीमा माछा जस्तै पौडीन सक्छ, यो जुका पहाडी पानी जुका भन्दा भिन्न प्रजातीको जुका हो। यो जुका पहाडी जुकाको अपेक्षा बिषालु पनि हुन्छ।
(जुका के हो र कति प्रकारका हुन्छन् भने जानकारीको स्रोत विकिपिडिया सन्दर्भ सामग्री)