तेह्रथुम । तेह्रथुमको विभिन्न स्थानमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा एक हजार एक सय २२ जनाले आँखा जाँच गराएका छन् । इटहरी ग्लोबल आई हस्पिटल र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा तेह्रथुमको विभिन्न गाउँहरूमा फागुन २१ देखि २७ सम्म शिविर सञ्चालन गरिएको थियो ।
एक साता सम्म चलेको शिविरमा आँखाका समस्या भएका बिरामीलाई निशुल्क औषधि पनि वितरण गरिएको थियो । साथै ८७ जनाको आँखाको निःशुल्क शल्यक्रिया पनि गरिएको इटहरी ग्लोबल आई हस्पिटलका निर्देशक तथा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर बेन लिम्बुले जानकारी दिनुभयो ।
शिविर वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर लिम्बुको नेतृत्वमा १३ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको थियो । शिविर समूहमा डा. बेन लिम्बु, डा. राफल, डा. पिटर, अप्टोमेट्रिष्ट लक्ष्मी राई, अफ्थाल्मिक असिस्टेण्ट रीना लिम्बु, प्रज्ञा लिम्बु, जनक पाल, अनिषा माझी हुनुहुन्थ्यो ।
साथै अन्य ६ जनाको व्यवस्थापक टोलीले म्याङलुङको तेह्रथुम अस्पतालमा “घुम्ती आँखा शल्यक्रिया अस्पताल” तयार पारी स्थानीयलाई सेवा प्रदान गरिएको थियो । मोतिबिन्दुका साथै अन्य आँखाका बिरामीहरूको शल्यक्रिया छनोटका लागि तेह्रथुमको फेदाप, मेन्छेयायेम, छथर गाउँपालिका र म्याङलुङ नगरपालिकामा घुम्ती शिविरको आयोजना गरिएको हो ।
शिविरमा २ वर्षका बालबालिकादेखि ९७ वर्ष सम्मका ज्येष्ठ नागरिकले आँखा परिक्षण गराएका थिए । फेदाप गाउँपालिका ९७ वर्षका मरिचमान लिम्बू विकासमा पछि परेको आफ्नो ठाउँमा निःशुल्क आँखा शिविर संचालन हुँदा निकै खुशि हुनुहुन्थ्यो ।
घुम्ती शिविरबाट छनोट भएका बिरामीहरूलाई शल्यक्रियाको लागि म्याङलुङ सम्म लान सम्बन्धित पालिकाले यातायातको व्यवस्थापन गरेको थियो भने खाना बस्नको व्यवस्थापन म्याङलुङ नगरपालिकाले गरेको थियो । निःशुल्क शल्यक्रिया तेह्रथुम जिल्ला अस्पतालमा फागुन २६ र २७ दुई दिन सञ्चालन गरिएको वरिष्ठ नेत्र विशेषज्ञ डा लिम्बुले बताउँनुभयो ।
शल्यक्रियामा अधिकांश मोतिबिन्दुका बिरामी थिए भने अन्य आँखामा मासु पलाएका, आँखाको डिल भित्र परि आँखा घोच्ने समस्या र आँखाको डिलमा ट्युमर पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो ।
शिविरको व्यवस्थापन आई हस्पिटलका इन्द्र बहादुर लिम्बू र यलम्बर लिम्बुले शिविर गर्नु भएको थियो । उमेरले ८० पुग्नु भएका लिम्बू आफूले जन्म लिएको गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर जिल्लावासीलाई सेवा दिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । आँखा शिविर सञ्चालनका गरेकामा तेह्रथुमका विभिन्न स्थानीयतह, जिल्लाका सरकारी तथा गैरसरकारी निकायले आभार प्रकट गरिएको थियो ।