काठमाडौं । कोरोना महामारीको कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।
२०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीको कारण सम्पूर्ण फिल्म हलहरु बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित फिल्म फूलमान वलले निर्देशन गर्नुभएको हो ।
धादिङको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गर्नुभएको छ भने म्यानमारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा हेर्न सकिन्छ ।
‘भूकम्पपछिको भौतिक पुनर्निमाणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धहरुको पुनर्निर्माणतिर कसैको ध्यान गएन’, फिल्मको कथावस्तुबारे निर्देशक वलले भन्नुभयो, ‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरुको पुनर्निर्माणको कथा भन्छ ।’
फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको वलले जनाउनुभयो । फ्रेण्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुनुहुन्छ । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत हुनुहुन्छ ।
प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहनुभएको छ ।