काठमाडौं । कोरोना भाइरस महामारीका कारण दुई वर्षदेखि रोकिएको ‘सगरमाथा पुरस्कार र तेन्जिङ हिलारी पुरस्कार’ यसपटक ९ जना आरोहीहरुलाई प्रदान गरिएको छ । पर्यटन विभागका महानिर्देशक रुद्रसिं तामाङको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय पुरस्कार समितिको सिफारिसका आधारमा शम्भू तामाङलाई सन् २०२० का लागि र कामीरिता शेर्पालाई सन् २०२१ का लागि १ लाख राशिको सगरमाथा पुरस्कार प्रदान गरिएको हो ।
तामाङले लामो समयसम्म ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड कायम राख्न सफल हुनुभएको थियो भने शेर्पाले २५ पटक सगरमाथा आरोहण गरी सर्वाधिक सगरमाथा आरोहण गर्ने रेकर्ड बनाउनु भएको छ ।
५० हजार राशिको तेन्जिङ हिलारी पुरस्कार ७ जना आरोहीलाई प्रदान गरिएको छ । जसअन्तर्गत सन् २०२० का लागि विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरिसक्नुभएका सानु शेर्पा, एकै सिजनमा एकैसाथ सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो दम्पती आङ्दावा शेर्पा र पासाङ फुटी शेर्पा र ३७ वर्षको उमेरमा २२ पटक सगरमाथा आरोहण गरिसक्नु भएका ङिमा नुरु शेर्पा रहेका छन् ।
सन् २०२१ को तेन्जिङ हिलारी पुरस्कार भने दोलखाका मिङ्मा ग्याल्जे शेर्पा, फून्जो जाङ्मु लामा र काभ्रेका सर्मिला लामा तामाङलाई दिइएको छ । पुरस्कृत सबैलाई पर्यटन विभागले नगद पुरस्कारबापतको चेक हस्तान्तरण गरिसकेको छ ।आर्थिक वर्ष सकिनु अगावै खर्च मिलान गर्नु परेकोले चेक हस्तान्तरण छिटो गर्नु परेको महानिर्देशक तामाङले बताउनु भयो ।
सत्ता समीकरणमा भएको फेरबदलसँगै मन्त्रीको रिक्तता र प्रधानमन्त्रीको समय नमिलेका कारण औपचारिक कार्यक्रम गर्न ढिला भएको विभागका महानिर्देशक तामाङले बताउनुभयो । 'राष्ट्रको गौरब बढाउने र विश्वमा चिनाउने' व्यक्तित्वहरुलाई सरकारले औपचारिक रुपमै सम्मान र पुरस्कृत गर्ने योजना भएता पनि सरकार परिवर्तनका कारण विभागीय मन्त्री पनि खाली रहेकाले कार्यक्रम गर्न ढिलो भएको उहाँको भनाइ छ । अब नयाँ मन्त्री आउनुभएपछि छिट्टै नै अैपचारिक कार्यक्रम गरी सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
तेन्जिङ हिलारी पुरस्कारबाट पुरस्कृत शर्मिलाले पहिलोचोटी सरकारबाट पुरस्कृत भएकोमा निकै गर्वानुभूति भएको सुनाउनुभयो । विभागमा पुगेर नगद पुरस्कारको चेक बुझेपछि खुसी हुँदै उहाँले भन्नुभयो, 'मेरो मिहिनेतले राष्ट्रलाई योगदान पुगेको अनुभूति भएको छ ।' अब विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले यसै सिजनमा अन्नपूर्ण र ल्होत्से आरोहण गर्नुभएको थियो भने त्यो भन्दा पहिला सगरमाथा र मनास्लु आरोहण गरिसक्नु भएको छ ।