भजनी । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ ।
कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको म्याद आव २०८०/८१ मा सकिँदैछ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन । जमरा खण्डको कामले सुरुदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन् ।
एउटै समयमा सुरु भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशतमात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाको भनाइ छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको आरोप लगाउँदै निर्धारित समयमा काम सम्पन्न नहुने उहाँको भनाइ छ । “सबै क्षेत्रमा एकैसाथ काम सुरु भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा दुई कम्पनीको कामको प्रगति ज्यादै न्यून छ”, उहाँले भन्नुभयो, “हामीले ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले काम गर्न सकेको छैन ।”
आयोजनाको काममा लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशङ्कर निर्माण सेवा र जिभिभी भारतीय कम्पनीले संयुक्तरूपमा लिएका छन् । साथै जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । दुई वर्ष कोरोना सङ्क्रमणको कारणले काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको दाबी छ । रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुनसक्ने स्थिति नदेखिएको स्वीकार गर्नुभयो ।
“काम गर्दै आएका छौँ । सम्पन्न गर्नुपर्ने समय नजिकिँदै आएको छ । अझै करिब ३० प्रतिशतभनदा बढी काम बाँकी छ”, उहाँले भन्नुभयो, “काम गर्दै जाँदा आएका समस्याका कारण समयमा काम सक्न ढिलाइ भएको हो । कयौँ ठाउँमा डिजाइन नै परिवर्तन गर्दै काम गर्नुपर्ने स्थिति काम गर्दै जाँदा आयो ।” कम्पनीले मरा कुलो क्षेत्रको संरचना निर्माणका लागि रू५४ करोडमा ठेक्का पाएको थियो ।