सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले एकल पुरुषलाई भत्ता वितरण गरेको छ ।
एकल पुरुषलाई निर्वाह भत्ता वितरणसम्बन्धी कार्यविधि, २०७९ बमोजिम गाउँपालिकाका ८८ जना एकल पुरुषहरुलाई यही चैत ९ गते भत्ता दिइएको हो । गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तानको हातबाट प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँकाका दरले ३ महिनाको ६/६ हजार रुपैयाँ उनीहरुले बुझेका छन् ।
यस्तै ४६ जना आमाबाबुविहीन बालबालिकाहरुका लागि १३ हजार ४३ का दरले भत्ता वितरण गरिएको छ ।
कार्यक्रममा लाभग्राहीका साथै उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओ बहादुर दर्जी साथमा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायत कर्मचारीको उपस्थिति थियो ।
यसअघि फागुन १ मा पनि मरिण गाउँपालिकाले २८ औं जनयुद्ध दिवसको अवसरमा राज्यले घोषणा गरेका ५० जना सहिद परिवार र अनाथ एवं द्वन्द्वपीडित ६८ विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेको थियो । संघीय सांसद लेखनाथ दाहाल 'राजन', प्रदेश सांसद सुष्पा भुजेल, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान 'प्रख्यात'ले सहिद परिवारलाई जनही २० हजार रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै अनाथ एवं द्वन्द्वपीडित विद्यार्थीहरु १ देखि ८ कक्षासम्मलाई ८ हजार, १० कक्षामा अध्ययनरतलाई १० हजार र ११-१२ कालाई १२ हजार रुपैयाँका दरले छात्रवृद्धि रकम प्रदान गरिएको छ । जसमा ७ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ । ५० जनाभित्र नपरेका बेपत्ताका दुई परिवारलाई पनि मरिणले २० हजार रुपैयाँका दरले सहयोग दिएको छ ।
मरिण गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा अघिल्ला वर्षदेखि नै सहिद परिवार सम्मान कार्यक्रमलाई जारी राखेको छ ।