सेयर बजारमा सुधारको संकेत देखिएको छ । लगातार ओरालो लाग्दै आएको सेयर कारोबार नेप्से साताको दोस्रो दिन सोमबार उच्च अंकले उकालो लागेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको छ ।
नेप्सेमा सोमबार २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबार भएको छ । यसबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमबार तीन दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत हाराहारीले बढेको छ । बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य ठिक १० प्रतिशतले बढेको छ ।
यस्तै दिब्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत र युनिभर्सल पावरको सेयर मूल्य पनि ठिक १० प्रतिशतले बढेको छ ।
युनियन हाइड्रो, हिमाल दोलखा हाइड्रो, शिभश्री हाइड्रो, लिबर्टी इनर्जी, अरुण भ्याली, बरुण, मल्टिपर्पोज फाइानान्स, युनाइटेड मोदी, आँखुखोला जलविद्युत र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ ।
युनिलिभर नेपाल, मेरो माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ ।
समूहगत सूचकमा जीवन बीमा समूह सर्वाधिक ५३७ अंकले बढेको छ । निर्जीवन बीमा समूह ४६७ अंक, विकास बैंक ३०० अंक, जलविद्युत समूह २०० अंक र फाइनान्स समूह १७६ अंकले बढेको छ ।
बजार अस्वाभाविक वृद्धि गर्ने बैंकहरूको प्रयासमा राष्ट्र बैंकले सर्किट लगाएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।