काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले खुला कारागारको नीति बनाउन पहल गर्ने बताउनुभएको छ ।
काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागारको निरीक्षणपछि मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो । कारागार निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले कारागारको तत्कालको भौतिक समस्या समाधान गर्न मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विपद्को तयारी, सडक दुर्घटना न्यूनीकरणका लागि ठोस कार्यक्रम, करिडोर र मुख्य नाका हुँदै भइरहेको आपराधिक गतिविधिको नियन्त्रण, सेवाग्राहीलाई प्रभावकारी र चुस्तदुरुस्त सेवा प्रदान, दलित समुदायका लागि अलग्गै दलित सेल बनाएर सेवा प्रदान गर्न र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको थियो ।
प्रहरीका लागि भौतिक पूर्वाधारको निर्माण र आधुनिक उपकरणहरू उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध बताउनुहुँदै उहाँले चाँडै प्रहरी समायोजन हुने विश्वास पनि व्यक्त गर्नुभयो । कारागारमा रहेको समस्या समाधान नीतिगत रूपमा गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
निरीक्षणको क्रममा मन्त्री श्रेष्ठलाई प्रहरी उपरीक्षक भाग्यन्द्र पुरुष ढकालले जिल्लाको समग्र शान्ति सुरक्षाका बारेमा जानकारी गराउनुभएको थियो । उपरीक्षक ढकालले जिल्लामा रहेका शान्ति सुरक्षाको समस्या र समाधानबारे पनि जानकारी गराउनुभएको थियो ।
मन्त्री श्रेष्ठ जिल्ला जानुभएको अवसरमा कारागार प्रमुख परशुराम थापाले कारागारमा रहेका समस्याहरूबारे जानकारी गराउनुभएको थियो । निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल पनि हुनुहुन्थ्यो ।