काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नुवाकोटका नेपाली कांग्रेस नेता डा.प्रकाशशरण महत अर्थमन्त्री बन्नु हुने लगभग निश्चित भएको छ ।
बिहीबार साँझ कांग्रेस बैठकले पार्टीबाट पठाउने मन्त्रीहरुको नामावली टुंग्याउने क्रममा महतलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने सहमति गरेको हो । दाहाल नेतृत्वको सरकारमा ८ मन्त्रालय पाएको कांग्रेसले पूर्णबहादुर खड्कालाई उपप्रधान एवं रक्षामन्त्री बनाउँदै सरकार पठाउँदैछ । यस्तै रमेश रिजाल परराष्ट्र, धनराज गुरुङ सामान्य प्रशासन, एनपी साउद शहरी विकास, सीता गुरुङ भूमि व्यवस्था, डिगबहादुर लिम्बू कानुन तथा संसदीय मामिला र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा पठाउने कांग्रेस करिब निष्कर्षमा पुगेको जनाइउको छ ।
यस्तो छ नयाँ बन्ने अर्थमन्त्रीको संघर्ष हक्की एवं स्पष्ट स्वभावका डा. प्रकाशशरण महत कांग्रेस र त्यसभित्र पनि संस्थापन समूहका महत्वपूर्ण हस्ती हुनुहुन्छ । लामो समय नेविसंघको राजनीतिमा सक्रिय डा. महतले २०४६ सालको परिवर्तन लगत्तै फूल व्राइट स्कलरसिप प्राप्त गरेर अमेरिकामा पढ्ने अवसर पाउनुभयो । अर्थशास्त्रमा पीएचडी गरेपछि महत २०५५ सालमा नेपाल फर्किनुभयो । त्यस लगत्तै महत पुन: राजनीतिमा होमिनुभयो । कांग्रेसको चौधौं महाधिवेशनमा आफ्नै समूहभित्रको अन्तर्घातका कारण महत महामन्त्रीमा पराजित हुनुभयो ।
२०७४ सालको आम चुनावमा काठमाडौं ५ बाट उम्मेदवार बनेका डा. महतले सफलता भने प्राप्त गर्न सक्नुभएन । स्कुल पढ्दादेखि नै राजनीतिमा सक्रिय महत २०२९ सालको विद्यार्थी आन्दोलनमै पक्राउ परेका नेता हुनुहुन्छ । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बि.पी. कोइराला नेपाल फर्कंदा महत महाराजगञ्ज कलेजमा नेविसङ्घको इकाई सभापति हुनुहुन्थ्यो । त्यसबेला उहाँ कलेज बन्द गरेरै बीपी कोइरालालाई स्वागत गर्न जानुभयो । ३५-३६ सालको विद्यार्थी आन्दोलनका क्रममा महत ६ महिना जेल पर्नुभयो । ३५ सालमै नेविसंघको केन्द्रीय नेतृत्वमा पुगेका डा. महत २०३९ सालमा नेविसंघको केन्द्रीय महामन्त्री बन्नुभयो । २०४६ सालको आन्दोलनमा डा. महत सात सदस्यीय आन्दोलन संचालन समितिको सदस्य हुनुहुन्थ्यो । २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला माओवादी समस्या समाधान गर्न शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको उच्चस्तरीय आयोगमा महतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । वार्ताबाटै माओवादी समस्या समाधानको पहल थाल्नुपर्ने दस्तावेज तयार गर्न महतको महत्वपूर्ण भूमिका रह्यो । २०५८ सालमा महत प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकार बन्नुभयो । राष्ट्रिय योजना आयोगको सदस्य हुनुभयो ।
माओवादी जनयुद्धको शान्तिपूर्ण रुपान्तरण प्रक्रियामा महतको भूमिका महत्वपूर्ण रह्यो । त्यसपछि महत अन्तरिम व्यवस्थापिका संसदको सदस्य हुनुभयो । माधव नेपाल नेतृत्वको सरकारमा महत उर्जामन्त्री बन्नुभयो । उर्जामन्त्री हुँदा अपर तामाकोशी परियोजना अगाडि बढाउने कामदेखि ढल्केबर मुजफपुर ट्रान्समिशन लाइन निर्माण र लोडसेडिङ हटाउन महतले धेरै काम गर्नुभयो । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकलाई एकीकरण गर्न बनेको समितिमा सदस्यको रुपमा रहेर पार्टी एकतालाई निश्कर्षमा पुर्याउन महतको महत्वपूर्ण योगदान रह्यो । संविधानसभाको सदस्यका रुपमा संविधान मस्यौदा समितिमा बसेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा महतको महत्वपूर्ण भूमिका रहेको छ ।
संविधान निर्माणपछि डा. महत प्रचण्डको नेतृत्वमा बनेको सरकारको परराष्ट्रमन्त्री हुनुभयो । चीनसँगको बिआरआई सम्झौता र भारतसँग द्धिपक्षीय हितका विविध विषयमा समजदारी निर्माणमा महतको महत्वपूर्ण पहल रह्यो । उर्जामन्त्री र परराष्ट्रमन्त्रीका रुपमा महतले राष्ट्रको हित र जनताको पक्षमा गरेका निर्णयहरु अविश्मरणीय रहेका छन् । कोरोना महामारीबाट उत्पन्न संकटका बेला कांग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिको संयोजकका रुपमा महतले संक्रमितको उपचार, औषधि, खोप र अनियमितताका विषयमा सरकारलाई निरन्तर खबरदारी गर्नुभएको थियो ।