काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, “आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ । यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु ।” सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमान्दार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।
जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमान्दार भएर कर्तव्यपथमा अगाडि बढ्नसमेत आग्रह गर्नुभयो । कर्मचारीको टे«ड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभयो ।
कर्मचारीतन्त्रमा रहेको बेथिती र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उहाँले आग्रह गर्नुभयो । उहाँले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समझदारीका साथ नीति, योजना र कार्यक्रम पारित गर्नुस् र नेतृत्व चयन गर्नुस् भन्ने मेरो आग्रह छ । नेतृत्वमा टिको लगाउने प्रथाले फाइदा गरेको छैन । स्वस्थ प्रतिस्पर्धा गर्दा केही फरक पर्दैन । लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गर्दा राम्रो हुने देखियो ।”
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ठूलो प्रयास र मेहनत गरेर, सरोकारवाला पक्षको धारणालाई समेत समेटेर सङ्घीय निजामती विधेयकलाई अन्तिम रुप दिइएको जानकारी दिनुभयो । उहाँले तयार भएको विधेयकलाई सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको बताउनुभयो ।
उहाँले आफू सामान्य प्रशासनमन्त्री भएर आएपछि कोहीकसैलाई पनि काखा र पाखा नगरेको, बरण्डामा भएका कर्मचारीको व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । तल्ला तहका कर्मचारीले टे«ड युनियन गतिविधि गर्न पाए पनि उपसचिव र सहसचिवले भने राजनीति गर्न नमिल्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले जनताका पक्षमा इमान्दार भएर काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गर्नुभयो । उहाँले कर्मचारीले प्रभावकारी काम गर्दा सरकारको समेत साख रहने भन्दै पार्टी सधैँ कर्मचारीका पक्षमा रहेको बताउनुभयो ।