काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८ टेकानपुरमा नवनिर्मित उग्येन पेज्यूङ डुब्देलिङ गुम्बाको उद्घाटन गरिएको छ । बौद्धमार्गीहरुको आस्थाको धरोहरका रुपमा स्थापना गरिएको गुम्बाको शनिबार एक विशेष समारोहबीच श्याल्पा तेन्जिन रेम्पोछेबाट छ्याने ह्राब्नेपश्चात् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले ऐतिहासिक क्षेत्र तेमालमा गुम्बा निर्माण हुनु गौरवको विषय रहेको बताउनुभयो । गुम्बा निर्माण विकास निर्माणका अरु कामभन्दा कम महत्वको नरहेको बताउँदै श्रेष्ठले कतिपयले यसलाई रुढीवादी धार्मिक कोणबाट व्याख्या गर्न सक्ने भए पनि यो संस्कृतिलाई बचाउने अभियान भएको धारणा व्यक्त गर्नुभयो ।
‘परम्परागत संस्कृतिलाई निरन्तरता दिने, बचाउने साथसाथै अहिलेको मान्छेलाई आवश्यक ध्यानको दिशातिर उन्मुख गराउने पवित्र थलोको रुपमा यो गुम्बाले काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो । साथै उहाँले ध्यान कक्ष, कम्पाउन्ड घेराबारलगायतका बाँकी कामका लागि सहयोग गर्ने आश्वासन दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले संघीय सांसद, प्रदेश सांसद, राजनीतिक दहलहरुसँग समन्वयमा तेमालमा आवश्यक विकास निर्माणका कार्यहरु गर्ने पनि गराउने वचनबद्धता व्यक्त गर्नुभयो । नेपाल तामाङ घेदुङका उपमहासचिव एवं उग्येन पेज्यूङ डुब्देलिङ गुम्बाका अध्यक्ष जगतमान लामा दोङले कार्यक्रममा राख्नुभएको प्रस्तावअनुसार माम्ती पुलबाट मेच्छेपौवासम्मको बाटो स्तरोन्नतिको जिम्मा सरकारले लिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।
संघीय सांसद् एवं पूर्वउर्जाराज्यमन्त्री सूर्यमान दोङले आजको व्यवस्था ल्याउन संघर्ष गरेर सहादत प्राप्त गरेका स्थानीय शहीदहरुको सम्मानमा सडकको नामकरण र ती पूर्वाधार स्तरोन्नतिका कार्य अघि बढाउने बताउनुभयो । गुम्बा निर्माण तेमालको पहिचान प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले संस्कृति प्रवर्द्धनका साथै यो क्षेत्रमा स्वास्थ्य, रोजगार, शिक्षा, खानेपानी, कृषिलगायत क्षेत्र र विकास निर्माणमा समेत सहयोग रहने वाचा गर्नुभयो ।
अध्यक्ष दोङका अनुसार गुम्बा निर्माणका लागि दुई वर्ष चार महिना समय लागेको थियो । गुम्बा निर्माणका लागि वाग्मती प्रदेश सरकारबाट १० लाख, तेमाल गाउँपालिकाबाट ४ लाख, बुद्ध दर्शन तथा गुम्बा विकास समितिबाट ५ लाख र बाँकी रकम देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको दोङले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले गुम्बा निर्माणमा जग्गादान गर्ने स्थानीय समाजसेवी गुञ्जमान तामाङ दम्पतीलाई सम्मानपत्र र खादाद्वारा अभिनन्दन गर्नुभएको थियो । सञ्चारकर्मीसमेत रहनुभएका गुम्बाका अध्यक्ष दोङले पहिचान अभिवृद्धि तथा पुण्य प्राप्तिको यो अभियानमा जोडिएका सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, दलीय प्रतिनिधि, लामागुरु, तामाङ समुदायका अग्रज व्यक्तित्व, पत्रकार, स्थानीयको बाक्लो उपस्थिति थियो ।