नुवाकोट । नुवाकोटमा सञ्चालनमा रहेका यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट सहुलियत दिन व्यवसायी सहमत भएका छन् ।
जिल्ला ट्राफिक कार्यलयको रोहबरमा आइतबार यातायात व्यवसायी र विद्यार्थी संगठनबीच विद्यार्थी परिचयपत्रको आधारमा भाडा छुट हुने निर्णय भएको हो ।
'यस जिल्लामा चल्ने नमस्ते पासाङ ल्हामु प्रालि, टिमुरे यातायात प्रालि, नेपाल माइक्रो र छाङेश्वरी यातायात प्रालिले कानुनअनुसार नेपाल सरकारबाट प्राप्त गर्ने भाडामा ४५ प्रतिशत छुट दिने,' निर्णयमा भनिएको छ ।
सहमतिका क्रममा जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मिलनकुमार सिङ, स्वतन्त्र विद्यार्थी युनियनका सभापति रविन दाहाल, किरण मगराती, सचिव राजेन्द्र पनेरु, कोषाध्यक्ष मनोज पौडेल, स्ववियु सदस्य सन्तोष पन्त, यातायात व्यवसायहरु नमस्ते पासाङ ल्हामु प्रालिका कार्यालय सचिव हरिप्रसाद न्यौपाने, टिमुरे यातायात प्रालिका प्रतिनिधि धिरेन्द्र तामाङ, छाङेश्वरी यातायात प्रालिका सचिव राजकुमार श्रेष्ठ, नेपाल माइक्रोका प्रतिनिधि सन्तोष उप्रेती उपस्थित थिए ।
स्ववियु सभापति दाहालले निर्णयबारे भन्नुभएको छ,'नुवाकोट जिल्लामा अध्ययनरत विद्यार्थीहरुलाई खुसीको खबर । हामीले १ हप्ता भित्रमा विद्यार्थी सहुलियत यातायात भाडामा ४५ प्रतिशत छुट गराउन प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका थियौं । आज मिति २०७९/१२/१९ गतेका दिन जिल्ला ट्राफिक कार्यालयको रोहबरमा यातायात व्यवसायीहरुसँगको छलफलमा विद्यार्थी परिचय पत्रको आधारमा भाडा छुट हुने निर्णय गरिएको छ | साथै कुनै सवारी साधनले छुट नदिएमा गाडीको नम्बर फोटो खिची तत्काल हामीलाई जानकारी दिनुहोला । जिल्ला ट्राफिक कार्यालय प्रमुखज्यू प्रवनानि मिलनकुमार सिङज्यूले तत्काल कारबाही गराउने प्रतिबद्धता गर्नुभएको छ ।'