काठमाडौं । तामाङ कलाकारहरुले स्वर्गीय गायिका योगिता मोक्तानलाई सम्झना गरेका छन् । नेपाल तामाङ कलाकार संघले शनिबार नेपाल तामाङ घेदुङको सभाहल, बौद्व चुच्चेपाटीमा स्वर्गीय गायिका योगिता मोक्तान स्मृतिसभा गरेको हो । कार्यक्रममा योगिता मोक्तान प्रतिभा पुरस्कार २०७९ बाट तामाङ मौलिक सेलो गायक तथा संगीतकार बैरागी मोक्तान (शेरबहादुर मोक्तान) लाई प्रदान गरिएको छ । पुरस्कार राशि २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ । वरिष्ठ लोक सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायिका योगिताकी आमा निरुकुमारी गुरुङले गायक मोक्तानलाई पुरस्कार प्रदान गर्नुभयो ।
बुबा वीरबहादुर मोक्तान र आमा निरुकुमारी गुरुङको कोखबाट २०४० मंसिर ४ गते रसुवामा जन्मिएकी गायिका मोक्तान २०६७ चैत ५ गते निधन भएको थियो । गायिका योगिताको ११ वर्षअघि निधन भएको थियो । तर कलाकार संघले स्मृतिसभा मनाउन थालेको तीन वर्ष भएको छ । पुरस्कार वितरण भने यो दोस्रोपटक हो । यसअघि योगिता मोक्तान प्रतिभा पुरस्कार मौलिक गायिका अन्जुर थोकरले पाउनुभएको थियो ।
नेपाल तामाङ कलाकार संघले योगिता मोक्तानको स्मृति सभामा तामाङ समुदायमा अतुलनीय योगदान पुर्याएका स्व. जयनन्द लामा, दिपेन्द्र दोङ तामाङको फोटोमा खादा, माल्यार्पण गरिएको थियो । देशमा सशस्त्र जनविद्रोह चलिरहेको बेला तत्कालीन द्वन्द्वकाल २०५८ सालमा योगिताको बुवालाई शाही नेपाली सेनाद्वारा निर्ममतापूर्वक हत्या गरेपछि स्व.योगिता मोक्तान सशस्त्र युद्धमा समेत होमिनुभएको थियो ।
मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि चन्द्रकुमार मोक्तानले तामाङ समाजको एकदमै होनहार प्रतिभावान व्यक्तिहरू गुमाएकोमा दु:ख व्यक्त गर्दै उहाँहरुले छोडेर राखिएको कृति, गीत, संगीत सधैं अमर रहने साथै सधैं सम्झिरहने बताउनुभयो । विशेष अतिथि नेपाल तामाङ घेदुङको सहअध्यक्ष कुमार घिसिङ, कलाकारहरु इन्दिरा गोले, रोज मोक्तान, प्रेम लोप्चन, जमुना योञ्जन, तामाङ कलाकार संघका सल्लाहकार तथा गायक/संगीतकार सञ्जिव वाइबा, नायक अमिर दोङ, तामाङ डाजाङका अध्यक्ष तथा गायक फूलकुमार बम्जन, तामाङ चलचित्र संघ वाग्मतीका अध्यक्ष आस्मन वाइबा, स्व. योगिता मोक्तानको परिवार, स्व. जयनन्द लामाका परिवारलगायतको उपस्थिति थियो । तामाङ कलाकार सघंका अध्यक्ष गायक/संगीतकार विश्व दोङको सभापतित्वमा भएको कार्यक्रम संघका उपाध्यक्ष गायक/संगीतकार विशाल कल्तानले सञ्चालन गर्नुभएको थियो ।