नुवाकोट । नेपाल तामाङ घेदुङ नुवाकोटको अध्यक्षमा शिवपुरीका वीरबहादुर तामाङ चयन हुनुभएको छ । उहाँ शिवपुरी गाउँपालिकाका निर्वाचित उपाध्यक्षसमेत हुनुहुन्छ ।
घेदुङ नुवाकोट जिल्ला कार्यसमितिको पाँचौं अधिवेशनबाट तामाङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा सरोज तामाङ, शक्तिमाया तामाङ, सचिव रूपबहादुर तामाङ, दिपेश तामाङ र कोषाध्यक्षमा सूर्यबहादुर तामाङ चयन हुनुभएको छ ।
सदस्यहरुमा सीतादेवी तामाङ, पूर्णबहादुर तामाङ, सुशीला तामाङ, चतुरमान तामाङ, गोपाल तामाङ, प्रतीक तामाङ, पुष्प तामाङ, सोनाम तामाङ, रोजत तामाङ, उर्मिला तामाङ र टेकबहादुर लामा तामाङ चयन हुनुभएको छ । ४ जना मनोनीत हुन बाँकी रहेको घेदुङ नुवाकोटले जनाएको छ ।
शनिबार बट्टारमा आयोजित भेला माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने, विभिन्न पालिकाकाका जनप्रतिनिधिसमेतको उपस्थिति थियो ।
यसैबीच, नवनिर्वाचित अध्यक्ष तामाङले जिल्लाका विद्यालयस्तरको आधारभूत तहमा मातृभाषा पठनपाठन गराउनुपर्ने माग गर्नुभएको छ । तामाङ बाहुल्यता रहेको नुवाकोटमा मातृभाषामा पठनपाठन गराउनुपर्ने नेपाल तामाङ घेदुङ नुवाकोटको माग रहेको उहाँले बताउनुभयो । आफूहरुको भाषा, संस्कृति र इतिहासलाई जगेर्ना गर्दै जान मातृभाषाले सघाउ पुग्ने उहाँको भनाइ छ ।