नुवाकोट । अर्थमन्त्री जनार्दन शर्मा नुवाकोटको पर्यटकीय स्थल ककनीमा आउनुहुने भएको छ । कात्तिक १५ गते ककनी गाउँपालिका वडा नं ५ को वडा कार्यालय भवन उद्घाटनका लागि मन्त्री शर्मा ककनी आउन लाग्नु भएको हो ।
अर्थमन्त्री शर्माले भोटथानसिङस्थित वडा नम्बर ५ को नवनिर्मित कार्यालय भवन उद्घाटन गर्नुहुने वडा अध्यक्ष रामबहादुर लामाले जानकारी दिनुभयो । मन्त्री शर्मासँगै नुवाकोट क्षेत्र नम्बर एकका सांसद् तथा पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र नुवाकोटका इञ्चार्ज बिमला सुवेदी लगायतको उपस्थिति रहने अध्यक्ष लामाले बताउनुभयो ।
'यो ककनी गाउँपालिकाकै पहिलो निर्माण सम्पन्न भएको वडा कार्यालय भवन हो,' अध्यक्ष लामाले भन्नुभयो, 'निर्माण अरु वडामा पनि भइरहेको छ, तर हामीले पहिला सम्पन्न गर्यौं र अरुले भन्दा पहिला नै औपचारिक उद्घाटन गर्न लागेका हौं' ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट ७० लाख बजेटमा कार्यालय भवन निर्माण भएको उहाँले बताउनुभयो । 'पहिलो वर्ष घडेरी खार्नका लागि पाँच लाख बजेटबाट सुरु गरी चार वर्षमा निर्माण सम्पन्न भएको हो', अध्यक्ष लामाले भन्नुभयो । भवनमा दुइ तला गरी नौवटा कोठा रहेका छन् । झण्डै पाँच रोपनी क्षेत्रफलमा बनेको उक्त भवनको अगाडि ठूलो चौर रहेको छ । जहाँ सभा, सम्मेलन तथा सांस्कृतिक कार्यक्रमहरु गर्न मिल्ने गरी भवनको तल्लो तलाको बीचको दुईवटा कोठाको भाग खुल्ला राखी मञ्चको रुपमा प्रयोग गर्न मिल्ने बनाइएको छ ।
संघीयताको कार्यान्वयन र स्थानीय सरकारको स्थापना भएको चार वर्ष बितिसकेको छ । तर अधिकांश स्थानीय सरकारका पालिका र वडाका आफ्नै कार्यालय भवन बनेका छैनन् । थोरै मात्रा स्थानीय तहमा आफ्नै कार्यालय भवनबाट सेवा संचालन गरिरहेका छन् भने, कतिपय निर्माणाधीन अवस्थामा रहेका छन् । आफ्ना भवन नभएका सबै स्थानीय सरकारी कार्यालयहरु भाडामा संचालन भइरहेका छन् ।
राजधानी काठमाडौंबाट नजिक रहेको ककनी गाउँपालिकाको पनि आफ्नो पालिका भवन बनिसकेका छैन । केही समय पहिला मात्र शिल्यान्यास गरी निर्माण सुरु भएको र यस आर्थिक वर्षमा सम्पन्न गरी सक्ने गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो ।