काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत नुवाकोट बेलकोटगढी नगरपालिका ७ रातमाटेमा बन्ने सवस्टेशन प्रभावित जनतालाई विशेष सेयर दिन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको शून्य समयमा बोल्नुहुँदै सांसद सुवेदीले रातमाटे सवस्टेशनबाट हटौंडा र दमौलीतर्फ लगिने प्रसारन लाइन प्रभावित जनतालाई विशेष सेयर दिन माग गर्नुभएको हो । उहाँले त्यस क्षेत्रका 'कोल्पुटार-बाघखोर-म्याङ्ली पोखरी-पातले सडक पूर्वाधारलगायत नुवाकोटका सडकहरु कालोपत्र गर्न माग गर्नुभयो । 'एमसीसी परियोजनाअन्तर्गत ५ वर्षभित्र करिब ३ सय १५ किमि प्रसारण लाइन र ७७ किमि सडक मर्मतसम्भार गर्ने योजना रहेकोमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा सवस्टेशन रहने र त्यहाँबाट हेटौंडा र दमौलीतर्फ एक एक प्रसारणलाइन लगिने योजना रहेकोमा यसबाट नुवाकोटको आकाश माकुरोको जालोजसरी बिजुली तारले ढाकिने भएकोले त्यहाँका प्रभावित जनतालाई विशेष सेयरको व्यवस्था गर्न,' उहाँले भन्नुभयो, 'सडक पूर्वाधारतर्फ कोल्पुटार-बाघखोर-म्याङ्ली पोखरी-पातले सडकलगायत नुवाकोटका सडकहरु कालोपत्र गर्न सभामुखमार्फत सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु ।'
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल विकास समितिका अनुसार झन्डै ६० अर्ब रुपैयाँ बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्टबाट ५ वर्षभित्र करिब ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक मर्मत सम्भार गर्ने योजना छ । ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइनअन्तर्गत तीन वटा नयाँ ४०० केभी क्षमताको "इण्डोर ग्यास इन्सुलेटेड सब-स्टेसन" निर्माण गरिने एमसीए नेपाल विकास समितिको वेबसाइटमा उल्लेख गरिएको छ। ''नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब-स्टेसन, तनहुँ जिल्लामा नयाँ दमौली सब-स्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब-स्टेसन निर्माण गरिनेछ,'' वेबसाइटमा उल्लेख गरिएको छ।
आयोजना अन्तर्गत प्रसारण लाइन काठमाण्डूको लप्सीफेदी अनि मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित विद्यमान सब-स्टेसनहरूमा जोडिनेछ। ८५६ वटा टावर रहने उक्त प्रसारण लाइनले १० जिल्लाका ३० नगरपालिका छुने बताइएको छ । प्रसारण लाइनको मार्गमा काठमाण्डू , सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला पर्छन् ।