नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको छ । अध्यक्ष तेजबहादुर तामाङले आइतबार पञ्चकन्या गाउँपालिकाबाट पहिलोपटक श्रम स्वीकृति दिएर सेवा प्रारम्भ गर्नुभएको हो । श्रम स्वीकृति लिनेमा पहिलो सेवाग्राही पञ्चकन्या गाउँपालिका-३ का रवीन्द्र भण्डारी बन्नुभएको छ ।
भण्डारीले खुसी हुँदै भन्नुभयो 'यसअघि काठमाडौं गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्यो तर अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भयो ।' श्रम स्वीकृति दिने क्रममा गाउँपालिका उपाध्यक्ष विमला केसी पाठक र रोजगार संयोजक सरोजकुमार खाती पनि सहभागी हुनुहुन्थ्यो ।
केन्द्र सरकारको निर्णयबमोजिम पञ्चकन्याले वैदेशिक रोजगारीका लागि विदेश जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा वैशाख २ गतेदेखि नै प्रारम्भ हुने २०७९ चैत २९ गते सूचना प्रकाशन गरेको थियो ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन भन्दै २०८० वैशाख २ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउने गत चैत १६ गतेको नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री) स्तरीयनिर्णय भएको थियो ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ ।