वाग्मती प्रदेशले शुक्रबार नयाँ मुख्यमन्त्री पाउँदै छ । धादिङ क्षेत्र १ (१) बाट नेकपा (एमाले)का तर्फबाट निर्वाचित राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लाग्नुभएको हो । उहाँले बुधबार ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरिसक्नुभएको छ । एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता हुनुभएको हो ।
२०१३ साल जेठ २९ मा गजुरीमा जन्मिनुभएका उहाँले ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उहाँ सुरुमा शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो ।‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उहाँले भन्नुभयो । पाण्डे नेकपा (माले)को सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति हुनुभएको थियो ।
२०५० सालमा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य हुनुभयो । धादिङमा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उहाँले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
उहाँ २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उहाँको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उहाँ सक्रिय राजनीतिमा लाग्नुभएको थियो । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उहाँलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।
जेल बस्ने क्रममा उहाँ २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य हुनुभएको थियो । त्यतिबेला उहाँ ४२ दिन जेल बस्नुभएको थियो । पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गर्नुभएको थियो ।