काठमाडौं । स्पेनका एक्स्त्रेमादुरा प्रान्तका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सहितको प्रतिनिधिमण्डल सप्ताहव्यापी नेपाल भ्रमणका लागि आज काठमाडौँ आईपुग्नु भएको छ । उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, प्रदेश प्रशासन प्रमुख, मेयरलगायत सहभागी रहेका छन् । मन्त्रीलगायतका केही सदस्यहरु भोली आईपुग्ने उपसभामुख राधिका तामाङले जानकारी दिनुभयो ।
स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको उपसभामुख तामाङले जानकारी दिनुभयो । जानकारी अनुसार प्रतिनिधिमण्डलले बिहीबार दिउँसो दुई बजे प्रधानमन्त्री शेरबहादुर देउबालाई भेट्ने कार्यक्रम रहेको छ ।
टोलीले नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुहुनेछ । यस्तै परराष्ट्रमन्त्री डा।नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुुका साथै कात्तिक १४ गते लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धमूर्ति अनावरण गर्नुहुने कार्यक्रममा सहभागी हुने छ । लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति नेपाल आईपुगीसकेको फाउण्डेशनको उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो । स्पेनी प्रतिनिधिमण्डलाई नेपाल भ्रमणको समन्वय फाउण्डेशनले गरेको उहाँले बताउनुभयो ।
स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्पेन प्रस्थान गर्ने छ ।