नुवाकोट । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्र भित्रका अतिक्रमण गरी बनाइएका संरचना हटाउन नुवाकोट शिवपुरी गाउँपालिका शेराबगरको नामलाई पत्र काटेको छ ।
शिवपुरी गाउँपालिकाका वडा नं. १, २, ३, ४, ६, ७ र ८ का केही भागहरु निकुन्जको मध्यवर्ती क्षेत्र भित्र पर्ने भएकोले र ती वडाका सार्वजनिक, सरकारी जग्गाहरुमा अनधिकृत तवरले घर टहरा बनाई अतिक्रमण गरी बसिरहेको जनगुनासोपछि निकञ्जुको कार्यालयले यही वेशाख १० गते गाउँपालिकालाई अतिक्रमण हटाउनेबारे पत्र पठाएको हो । पत्र शिवपुरी गाउँपालिकाका वडाहरुलाई समेत बोधार्थ लेखिएको छ ।
'मध्यवर्ती क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गाहरुमा भएको अतिक्रमणजन्य कार्य मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली,२०५२ र शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज नियमावलीअनुसार निषेधित कार्यमा पर्न गई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ समेत आकर्षित हुने देखिन्छ,' प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले गाउँपालिकालाई लेखेको पत्रमा उल्लेख छ, 'यस राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने त्यहाँ नगरपालिका अन्तर्गतका वडाका सरकारी, सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर टहराहरुमा जडान भएका धारा, बिजुलीका लाइनहरु काट्ने र सो स्थानहरुमा कसैले चियापसल लगायतका व्यवसाय गर्न स्वीकृत लिएको भए सो समेत खारेज गरी अतिक्रमण भएको क्षेत्र खाली गरी संरक्षण कार्यमा यहाँको सहयोगका लागि अनुरोध गरिन्छ ।'
यसैबीच शिवपुरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुकुराम तामाङले सार्वजनिक जग्गा अनधिकृतरुपमा व्यक्तिले कब्जा गरिएको जानकारी भएमा समन्वय गरिदिन गाउँवासीसँग आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्चालमा लेख्दै अनधिकृत संरचना पाइए सम्बन्धित निकायबाट उचित छानबिन गरेर समस्याको हल खोजिने पनि प्रतिबद्धता जनाउनुभएको छ ।