मकवानपुर । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रविधिको प्रयोगबिना समृद्धि सम्भव नभएको बताउनुभएको छ ।
आइसिटी फाउन्डेशन नेपालले बिहीबार हेटौंडाको एक होटलमा आयोजना गरेको डिजिटल वाग्मती संवाद कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले मुलुकलाई मानव स्रोत र प्रविधिको प्रयोगमार्फत केही दशकमा समृद्ध बनाउन चाहेकोले प्रविधिक प्रयोग अनिवार्य रहेको बताउनुभएको हो । 'हामी प्राकृतिक रूपमा सुन्दर हाम्रो देशलाई मानव स्रोत र प्रविधिको प्रयोगमार्फत केही दशकमा समृद्ध बनाउन चाहन्छौं । प्रविधिको प्रयोगबिना समृद्धि सम्भव छैन भन्ने कुरामा वाग्मती प्रदेश सरकार स्पष्ट छ । त्यसका लागि वाग्मती प्रदेश सरकार विज्ञान र सूचना तथा सञ्चार प्रविधिमैत्री ऐनकानुन बनाउन, बनेकालाई समयानुकूल परिमार्जन गर्न र कार्यान्वयन गर्न प्रतिबद्ध छ,' उहाँको भनाइ थियो ।
अझै पनि हाम्रो वाग्मती प्रदेशका विकट क्षेत्रहरुमा इन्टरनेट र प्रविधिको पहुँच नपुगेको उल्लेख गर्नुहुँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकार व्यवस्थित योजना बनाएर अघि बढ्ने दाबी गर्नुभयो । 'हाम्रा दैनिक जीवन र सरकारी कामकाजमा कम्प्युटर तथा डिजिटल प्रविधि प्रयोग गर्न इन्टरनेट कनेक्टिभिटीको अपरिहार्यता बुझेका छौँ । तर पनि अझै हाम्रा विद्यार्थीहरू पढ्नको लागि घन्टौँ हिड्नुपर्ने र महिनौंसम्म पुस्तक पढ्न नपाउने अवस्था छ । यस्तो अवस्थामा सुधार ल्याउन बागमती प्रदेश सरकार व्यवस्थित योजना बनाएर अघि बढ्नेछ ।'
उहाँले कार्यक्रममा प्राप्त उपयुक्त सुझावहरुलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न प्रयत्न गर्ने आश्वासन दिनुभयो । महत्वपूर्ण कार्यक्रम आयोजना गरी प्रदेश सरकारलाई पनि सँगै लिएर रुपान्तरणको प्रयासमा अघि बढेको भन्नुहुँदै आयोजक संस्था आइसिटी फाउन्डेशन नेपाललाई धन्यवाद दिनुभयो ।
सम्बोधनको पूर्णपाठ
डिजिटल बागमती संवाद कार्यक्रमका अध्यक्ष, कार्यक्रममा उपस्थित प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र अन्य सम्पूर्ण महानुभावलाई अभिवादन गर्दछु ।
आइसिटी फाउण्डेशन नेपालले आयोजना गरेको डिजिटल बागमती संवाद कार्यक्रमले प्रदेशको डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई सहयोग पुग्ने विश्वास लिएको छु । यस कार्यक्रममार्फत प्रदेशको आगामी योजना तथा कार्यक्रमलाई थप परिमार्जन गर्न र जनतालाई थप सेवा सुविधा उपलब्ध गराउन सहयोग पुर्याउने विश्वास पनि लिएको छु ।
हजारौंको बलिदानबाट नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यसले व्यवस्था परिवर्तनको आधारभूत काम पुरा गरेको छ । अब देश अवस्था परिवर्तनको चरणमा प्रवेश गरेको छ । अघिल्ला शताब्दीहरूमा कैयौं देशहरूले शदीयौँ लगाएर प्राप्त गरेका समृद्धि आज हामीले केही दशकमा प्राप्त गर्नसक्ने सम्भावना बढेर गएको छ । किनभने हामी बाँचिरहेको शताब्दी बिज्ञान र सूचना तथा सञ्चार प्रविधिको शताब्दी हो ।
तर यसका लागि आधारभूत सर्त भनेको बलिदानको जगमा प्राप्त व्यवस्थाको रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्नु हो । हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान त बनायौं तर त्यस संविधानलाई सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐनकानुनहरू अझै जेजति बनाउनु पर्थ्यो त्यति बनाउन सकिरहेका छैनौं । भएका ऐनकानुनहरू पनि समयानुकूल परिमार्जन गर्न सकिरहेका छैनौं । आज पनि हामीले कतिपय पञ्चायतकालीन ऐनकानुनको भरमा काम गरिरहेका छौँ । जुन ऐनकानुनले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र केहीलाई पनि चिन्दैन ।
संघ, प्रदेश र स्थानीय सरकारको कतिपय अधिकारको बारेमा संविधानमा साझा सूची छ । साझा सूचीभित्रका अधिकारलाई लिएर सङ्घीय सरकारले जति ऐनकानुनहरू बनाउन सक्नुपर्थ्यो त्यति बनाउन नसक्नाले र बनाएका ऐनकानुनहरू पनि कार्यान्वयन नगर्नाले खासगरी प्रदेश सरकार फितलो बन्न गएको छ । जसको कारण बिस्तारै जनतामा प्रदेशप्रति नै प्रश्न जन्मिन थालेको छ । सङ्घीय सरकारप्रति विशेष आग्रह छ- विगतका ऐनकानुनहरू समयानुकूल संशोधन गर्नुस् र आवश्यक नयाँ ऐनकानुनहरू फटाफट निर्माण गरेर संविधानको सफल कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुस् ।
हामी प्राकृतिक रूपमा सुन्दर हाम्रो देशलाई मानव श्रोत र प्रविधिको प्रयोगमार्फत केही दशकमा समृद्ध बनाउन चाहन्छौं । प्रविधिको प्रयोगविना समृद्धि सम्भव छैन भन्ने कुरामा बागमती प्रदेश सरकार स्पष्ट छ । त्यसका लागि बागमती प्रदेश सरकार बिज्ञान र सूचना तथा सञ्चार प्रविधिमैत्री ऐनकानुन बनाउन, बनेकालाई समयानुकूल परिमार्जन गर्न र कार्यान्वयन गर्न प्रतिबद्ध छ ।
हामीले तीतो यथार्थ स्वीकार गर्नैपर्ने हुन्छ, अझै पनि हाम्रो बागमती प्रदेशका बिकट क्षेत्रहरुमा इन्टरनेट र प्रविधिको पहुँच पुगेको छैन । हाम्रा दैनिक जीवन र सरकारी कामकाजमा कम्प्युटर तथा डिजिटल प्रविधि प्रयोग गर्न इन्टरनेट कनेक्टिभिटीको अपरिहार्यता बुझेका छौँ । तर पनि अझै हाम्रा विद्यार्थीहरू पढ्नको लागि घन्टौँ हिड्नुपर्ने र महिनौंसम्म पुस्तक पढ्न नपाउने अवस्था छ । यस्तो अवस्थामा सुधार ल्याउन बागमती प्रदेश सरकार व्यवस्थित योजना बनाएर अघि बढ्नेछ ।
आज यस कार्यक्रममा महत्वपूर्ण प्रस्तुतिहरु भएका छन् । प्रदेश र स्थानीय तहमा भैरहेका डिजिटल सेवाका अभ्यासहरु, प्रदेशका योजनासँगै दूरसञ्चार र पूर्वाधारको कुरा भएको छ । प्रदेशमा भएका समस्या, दक्षजनशक्ति र मानवस्रोतको अवस्थाको पनि चित्रण गरिएको छ ।
हामीले सुरु गरिरहेका कामहरुको बारेमा सचिव र सञ्चार रजिस्ट्रारले पनि बताउनु हुनेनै छ । यस क्षेत्रमा म आफैँ विज्ञ त हैन, तर आज आइटी त्यसमा पनि ए.आइमा जुन चमत्कार भैरहेका छन्, त्यसले विज्ञहरुमाथि पनि प्रश्नचिन्ह खडा गरेका छन् । यद्यपि सूचना तथा सञ्चार प्रविधि समाजको महत्वपूर्ण अंगको रुपमा विकास भैसक्यो र यसलाई अब प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने मेरो बुझाई छ ।
डिजिटल पूर्वाधारको क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । दूरसञ्चार प्राधिकरणले प्रदेश सरकारको समन्वयमा काम गर्नुपर्छ भन्ने लाग्छ । यसैगरी अहिले डेटा सुरक्षाको त्यतिकै कुरा उठेको छ । साइबर आक्रमणको सिकार सरकार, समाज र व्यक्ति हामी सबै भैरहेका छौँ । केही दिन अघि मात्रै लोकसेवा आयोगलगायत कतिपय संघ, संस्थाको डाटा हरायो । जसको कारण ती संस्थाहरूले आज ठुलो समास्या भोग्न परिरहेको छ । कुनै पनि बेला हाम्रो प्रदेश सरकारले पनि त्यस्तै समस्या भोग्न नपर्ला भन्न सकिन्न । त्यसैले हामीले आफ्नै डेटा सेन्टर राख्ने योजना पनि बनाइरहेका छौँ ।
हामीले जनतालाई सूचनाको सहज पहुँचको लागि सूचना बैंक बनाएका छौँ, त्यसलाई अझ विस्तार र थप व्यवस्थित बनाउने योजनामा छौँ । यातायातमा प्रविधिको प्रयोगमार्फत सर्बसाधारणलाई सहज सेवा उपलब्ध गराउने तयारीमा छौँ ।
आव. ०८०/०८१ मा अन्य क्षेत्रमा के के गर्न सकिन्छ, त्यसको बारेमा बृहत छलफल र आवश्यक तयारी गरिरहेका छौँ । यस कार्यक्रमबाट पनि हामीलाई थप सुझाव प्राप्त हुनेछ । उपयुक्त सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न प्रयत्न गर्नेछौं । हामी डिजिटल प्रदेश निर्माणका लागि प्रयासरत थियौं, छौँ र रहनेछौँ ।
महत्वपूर्ण कार्यक्रम आयोजना गर्नुभई प्रदेश सरकारलाई पनि सँगै लिएर रुपान्तरणको प्रयासमा अघि बढ्नुभएकोमा आयोजक संस्था आइसिटी फाउण्डेशन नेपाललाई धन्यवाद दिन चाहन्छु । साथै,कार्यक्रमको पूर्ण सफलताको कामना पनि गर्दछु । आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा निम्ता गर्नुभएकोमा थप धन्यवाद ज्ञापन गर्दै बिदा माग्दछु । धन्यवाद !