काठमाडौं । आगामी जेठ २० र २१ गते थाइल्यान्डको राजधानी बैंककमा हुने अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलनको तयारी द्रुत गतिमा अगाडि बढिरहेको आयोजकले जनाएको छ ।
सबै देशका संघ संस्थालाई सम्मेलनमा प्रतिनिधित्वको लागि पत्र र प्रतिनिधिहरुको नाम पठाउने, संस्था दर्ता र नवीकरणको कामहरुसहित सम्मेलन अगाडि बढिरहेको जनाइएको छ । परिषद्का महासचिव तथा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङका अनुसार संशोधित विधानको सन्दर्भमा खाका तयार गर्नुका साथै अन्तिम छलफलको लागि तामाङ धेदुङका कानुनी सल्लाहकार डा कुन्साङ योन्जनलाई जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्र्रिय तामाङ परिषद्को विश्व कार्ययोजनासम्बन्धी प्रस्ताव तयार गर्न संस्थापक अध्यक्ष परशुराम तामाङलाई जिम्मेवारी प्रदान गरिएको पनि महासचिव गोलेले जानकारी दिनुभयो । परिषद्को आगामी गन्तव्यबारे डा मुक्तसिंह लामाले, सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन बनाउने जिम्मा पनि महासचिव गोलेले लिनुभएको छ ।
तेस्रो देशमा पहिलो पटक हुन लागेको सम्मेलनको तयारीबारे परिषद्का महासचिव गोले, सदस्य संस्था हङकङ, जापान र दक्षिण कोरियाका प्रमुखसँग समेत हामीले प्रतिक्रियाका लिएका छौं ।
- मोहन गोले तामाङ
महासचिव, अन्तर्राष्ट्रिय तामाङ परिषद्
सबै देशको संघ संस्थालाई सम्मेलनमा प्रतिनिधित्वको लागि पत्र र प्रतिनिधिहरुको नाम पठाउने काम भइरहेको छ । संस्था दर्ता र नवीकरणका कामहरु भइरहेको छ । संशोधित विधानको सन्दर्भमा खाका तयार गर्नुका साथै अन्तिम छलफलका लागि तामाङ धेदुङका कानुनी सल्लाहकार डा कुन्साङ योन्जनलाई जिम्मेवारी दिएका छौं ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्को विश्व कार्ययोजनासम्बन्धी प्रस्ताव तयार गर्न परिषद्को संस्थापक अध्यक्ष परशुराम तामाङलाई जिम्मेवारी प्रदान गरिएको छ भने परिषद् अबको दिनमा कसरी अघि बढ्नुपर्छ भन्ने सवालमा परिषद्का सल्लाहकार समेत रहेका डा मुक्तसिंह लामालाई जिम्मेवारी प्रदान गरिएको छ । सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पनि मैले नै तयार पार्ने जिम्मा आइलागेको छ । यी विभिन्न प्रतिवेदनहरु लेख्ने, सम्मेलनमा सहभागीहरुलाई लैजानका लागि ट्राभलको प्रक्रिया अघि बढाउनुको साथै आवश्यक कागजपत्रहरु संकलन गर्ने प्रक्रियालगायत कामहरु वैशाखको अन्तिमसम्म सकिने विश्वास छ ।
जेठ महिनादेखि महाधिवेशनको विभिन्न सामग्रीहरु प्रिन्ट गर्नका लागि प्रेसमा दिने र प्रकाशन गर्ने, आईडी कार्डहरु तयारी गर्ने लगायतका कामहरु हुने छन् । परिषद्का वरिष्ठ उपाध्यक्षलाई व्यवस्थापन सहजीकरणको लागि सम्मेलन हुने मितिको १५ दिन अघि नै पठाउने तयारी रहेको छ ।
- सुष्मा वाइबा तामाङ
अध्यक्ष, हङकङ तामाङ घेदुङ
हङकङ तामाङ घेदुङले परिषद्को पहिलो सम्मेलनदेखि नै प्रतिनिधित्व जनाउदै आइरहेको छ । सन् २००५ मा हङकङ तामाङ घेदुङ दर्ता भएर सक्रिय रुपमा अघि बढ्दै आइरहेको छ । संस्थापक सदस्य संस्था हो । जुन ३–४ तारिखमा हुने परिषद्को सम्मेलनमा १५ देखि १८ जनासम्म प्रतिनिधि सहभागी हुनेछन् । हङकङबाट थाइल्यान्ड नजिक भएकोले उपस्थिति बलियो हुने छ ।
पाँचौं सम्मेलनले विश्वभर छरिएर रहेको तामाङ समुदायको हकहितका पक्षमा बोल्ने विषयवस्तुलाई अघि सार्न सक्नुपर्छ । विभिन्न देशमा विभिन्न भाषा भए पनि तामाङ समुदायका नयाँ पुस्तामा भाषा, संस्कार–संस्कृति पुस्तान्तरण गर्न पनि जरुरी छ ।
- कार्साङ तामाङ
केन्द्रीय अध्यक्ष, तामाङ समाज जापान
बैंककमा हुन लागेको पाँचौं सम्मेलनमा समुदायको संस्कार–संस्कृति, भाषा संरक्षण र संवर्द्धका विषयलाई पनि अघि सार्न जरुरी छ । सम्मेलनले भावी पुस्तालाई तामाङ संस्कार–संस्कृति, रहनसहनको विषयमा प्रशिक्षित गर्ने नीति अघि सार्नुपर्ने अपेक्षा छ । सम्मेलनमा विश्वभरका तामाङको गतिविधिबारे बुझ्ने मौका पाउनु एउटा महत्वपूर्ण समय हुने आस मैले लिएको छु । जापानबाट परिषद्को सम्मेलनमा ४ देखि ५ जना सहभागिता जनाउने तयारी भइरहेको छ ।
सन् १९९८ देखि जापानमा सक्रिय रहँदै आएको तामाङ समाज जापान सन् २००९ मा आधिकारिक रुपमा दर्ता भएको संस्था हो ।
- रवि योञ्जन तामाङ
अध्यक्ष, नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया
पाँचौं सम्मेलनमा तामाङ समुदायको शिक्षाको विषयलाई प्राथमिकता राख्नुपर्ने हाम्रो जोड छ । सरकारी सेवामा तामाङ समुदायको संस्था निकै कम भएको हुँदा निःशुल्क लोकसेवा शिक्षा प्रदान गरेर भए पनि अघि बढ्ने विषयहरुलाई समेट्नु पर्ने छ । अबको केही समय पछि दक्षिण कोरिया घेदुङको नयाँ नेतृत्व चयनको लागि अधिवेशन भएको हुँदा त्यसपछि प्रतिनिधिको बारेमा टुंगो लगाउनेछौं ।
के हो अन्तर्राष्ट्रिय परिषद् ?
सन् २००२ मा बाट परशुराम तामाङको नेतृत्वमा जन्मिएको परिषद् अहिले सम्म धेरै देशका तामाङ समुदाय आबद्ध भएका छन् । हालसम्म परिषद्ले चौथौ सम्मेलन सम्पन्न गरिसकेको छ । आउने जेठ २० र २१ गते थाइल्यान्डमा पाँचौं सम्मेलनको तयारी गरिएको छ । सन् २००५ को डिसेम्बरमा दोस्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन भारतस्थित पश्चिम बंगालको दार्जिलिङमा भएको थियो भने सन् २०१३ मार्च १६–१८ मा नेपालको राजधानी काठमाडौंमा भएको तेस्रो सम्मेलनले महेन्द्रजंग तामाङको अध्यक्षतामा परिषद् कार्यसमिति गठन गरिएको थियो ।
सन् २०१८ डिसेम्बर १४–१६ मा चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन भारतको दार्जिलिङ मिरिकमा सम्पन्न हुँदा के. एम. तामाङको अध्यक्षतामा अन्तर्राष्ट्रिय तामाङ परिषद्ले नेतृत्व पाएको थियो । परिषद्मा सदस्यलाई तीन प्रकारले विभाजन गरिएको छ । चौथो सम्मेलनबाट यस परिषद्को अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ सचिव र सम्पर्क सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष र १ सदस्य गरी जना गरी जम्मा १६ सदस्यको परिषद् गठन गरिएको थियो ।
एउटा राज्यको सिमांकन हुनुभन्दा पूर्व नै विभिन्न देशहरुमा फैलिएको र अहिले विभिन्न देशमा नामकरण भएका देशहरुलाई स्थायी सदस्य, दोस्रो पछिल्लो समयमा माईग्रेसन प्रक्रियामा त्यहाँ पुग्यो र उहाँहरुलाई त्यहीको नागरिक हुने र कानुनअनुसार दर्ता गरेर संचालन गरेको संस्था भयो उहाँहरुलाई राष्ट्रिय संस्था र अर्को सम्बन्धन सदस्य संस्था भनेको अस्थायी रुपमा बसोबास गर्ने गैर आवासीय रुपमा संचालन भएका संस्थाहरुलाई आबद्ध गराइएको छ ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्मा हाल नेपाल, भारत, भुटान, थाइल्यान्ड, बर्मामा स्थायी सदस्य संस्थाहरू आबद्ध छन् भने अमेरिका, हङकङ, कुवेत, इजरायल, जापान, बेलायत, मलेसिया, दक्षिण कोरिया, बहराइन, मकाउ, बेल्जियम, पोर्चुगल, जर्मनी, स्पेन, ओमन, साउदी अरब, दुबई, कतार, अस्ट्रेलिया, साइप्रस, क्यानाडा, इराकलगायत डेढ दर्जन बढी मुलुकमा राष्ट्रिय सदस्य संस्थाहरू क्रियाशील छन् ।
प्रत्येक ४/४ वर्षमा लोकतान्त्रिक विधि, प्रक्रियाद्वारा परिषद्को सम्मेलन सम्पन्न गरी यसले विधानबमोजिम सम्मेलन आयोजक संस्थाले तोकेको व्यक्तिको अध्यक्षतामा सबैको प्रतिनिधित्व हुने गरी एक कार्यसमिति गठन गर्दछ । परिषद्को केन्द्रीय सचिवालयको कार्यालय नेपालको काठमाडौंमा स्थापना गरिएको छ भने क्षेत्रीय रूपमा समेत क्षेत्रीय समितिहरू (दक्षिण एशिया, युरोप, पूर्वी एशिया तथा अस्ट्रेलिया, उत्तर–दक्षिण अमेरिका र खाडी तथा मध्यपूर्वी क्षेत्र) समेत क्रियाशील छन् ।