काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि २६ सम्म काठमाडौंमा हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुने जानकारी दिएको हो ।
बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिए पनि बिहीबार संशोधन गरेर तीन दिनअघि सारिएको कांग्रेसले जनाएको छ ।
निर्वाचन समितिले जिल्लाहरुलाई विभिन्न समूहमा विभाजन गरी अधिवेशनको मिति पनि सार्वजनिक गरिएको छ ।
कात्तिक २७ मा सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साको गाउँ÷नगरको वडा अधिवेशनको मिति तोकिएको छ ।
यस्तै कात्तिक ३० मा, प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गते हुनेछ । साथै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन भने मंसिर १० गते हुनेछ ।
यस्तै कांग्रेसमा प्रदेश समितिको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ ।
