काठमाडौं । प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार बिहान काष्टमाण्डप टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सांसद तामाङले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नु राम्रो हुने बताउनुभएको हो । जबराले राजीनामा नदिए तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हविगत हुने सांसद तामाङले चेतावनी दिनुभयो । 'राजीनामा दिनुस् । तमासा देखाएर बस्ने होइन । नत्र लोकमानसिंह कार्की, केपी शर्मा ओलीको जस्तै हविगत हुन्छ,' नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका तामाङले थप्नुभयो, 'यदि समस्यालाई हल गर्नेतर्फ लाग्नु हुन्न । यो स्थिति चर्काउनेमा लागिरहनुभयो भने प्रधानन्यायाधीश जबरालाई संसद् बोलाएर महाअभियोग ल्याउनुपर्छ ।'
संघीय संसदको अधिवेशन बिहीबार नै सरकारले अन्त्यको लागि सिफारिस गरिसकेको छ । पूर्वमन्त्री तामाङले महाभियोगको बारेमा सत्ता गठबन्धनले आँट गर्नुपर्ने र गठबन्धनभित्र सहमति गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो । नेपालमा संवैधानिक निकायमा रहेका प्रमुखहरुले संविधानविपरीत काम गरेको भन्दै संवैधानिक व्यवस्था भए पनि अहिलेसम्म महाभियोग नलगाएको अवस्था रहेको भन्दै सांसद तामाङले न्यायमूर्तिका रुपमा रहेका प्रधानन्यायाधीशलाई महाभियोग प्रस्ताव ल्याउनुपर्ने अवस्था बन्यो भने दुर्भाग्य हुने पनि बताउनुभयो ।
विगतमा पनि न्यायालयमा विकृति देखिएको भन्दै उहाँले अहिले भने मन्त्रिपरिषद्मा भागबन्डा खोज्ने, मनोमामनी रुपमा इजलास तोक्नेजस्ता प्रधानन्यायाधीशबाट चरम हर्कत भएको बताउनुभयो ।
फरक प्रसंगमा सांसद तामाङले विगतको सरकारलाई हेर्दा अहिलेको सरकारलाई आलोचना गरिहाल्नुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो । उहाँले विविध कारणले मन्त्रिपरिषद् विस्तारमा ढिला भएपनि मन्त्रालयले पूर्णता पाएकोले मन्त्रीहरु परिणाम दिने ढंगले काममा लागिरहेको उल्लेख गर्नुभयो ।
सरकार मुलुकमा व्याप्त रहेको महँगी, भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिँदै सांसद तामाङले त्यसको पहलकदमी प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनुपर्ने बताउनुभयो ।