काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपद्वारा राजधानीमा शनिबार आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, `यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं ।´
उहाँले शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्रविरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले भारतसँग खुला सिमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता-जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामी भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने बताउनुभयो ।
प्रधानमन्त्रीले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, `अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ । त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।´