सिन्धुली । मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरुप साइकल र एक लाख रुपैयाँ नगद वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष विमर्स मुक्तानको अध्यक्षतामा जेठ ६ गते शनिबार गाउँ कार्यपालिकाको कार्यालय कपिलाकोट सिन्धुलीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरिएको हो ।
प्रमुख अतिथि संघीय सांसद लेखनाथ दाहाल, विशिष्ट अतिथि निवर्तमान वाग्मती प्रदेश सांसद बुद्धिमान माझी, अध्यक्ष मुक्तान, गाउँपालिका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले गाउँपालिकाको आ.व. २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम तथा मरिण गाउँपालिकाको स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलाको लागि प्रोत्साहन रकम प्रदानसम्बन्धी कार्यविधि, २०७९ बमोजिम प्रत्येक ५ जनाका लागि १ लाख रकम हस्तान्तरण गर्नुभयो ।
छात्रालाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको जनाउँदै उहाँले भन्नुभयो, “हालसम्म गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको र स्तातक तह उत्तीर्ण गर्ने पाँच जनालाई एक लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गरेका छौं ।” पालिकाभित्र दुई उच्च माध्यमिक विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत एक सय ६० विपन्न, दलित, आदिवासी जनजाति छात्रालाई पहिलो चरणमा साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कमलबहादुर आलेमगर, राजनैतिक दलका प्रतिनिधिहरु, ७ वटै वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रध्यानाध्यापकहरु, पत्रकारहरु, कर्मचारीहरु र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत दर्जीले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । मरिणले शिक्षा सबैका लागि सहज बनाउन विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यकाल एक वर्ष पूरा भएको अवसरमा अध्यक्ष मोक्तानले आफ्ना एक सय एक महत्वपूर्ण उपलब्धिसमेत सार्वजानिक गर्नुभएको थियो ।